बैतडी। बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन्। कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन्।

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन्। केही वर्षअघिसम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो।

यस्तै कुनै समय बैतडीका किसानको खेतबारीमा पनि प्रशस्त उत्पादन हुने कोदो र मादुरो खेती अहिले लोप भइसकेको छ । अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया–३ का प्रेमसागर भट्टको भनाइ छ।

आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए।

कोदो, मादुरो, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उनले बताए।

पुराना बालीमा पाइने पोषक तत्वका विषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेको किसान मोहनबहादुर विष्टले बताए। पुराना बालीको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताए। धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ।

कोदो, मादुरो, भटमासका परिकार गाउँघरमा पाइन छाडेका छन्। बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागि निकै फाइदाजनक रहेका बाली नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नको कमी आउन थालेको सुर्नया–२ हटैराजकी तुला चन्दले बताए। यी अन्नबालीले हुने फाइदाका बारेमा जानकारी नहुँदा यिनको अस्तित्व सङ्कटमा परेको हो।

समयसँगै कृषि गर्ने तरिका परिवर्तन भयो, सँगै खेती गरिने बालीनाली पनि परिवर्तन हँुदै गए। कोदो, मादुरो, जैखेतीबाट धान, मकै आदि बालीजस्तो लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसान बताउँछन्।

पछिल्लो समय गाउँघरमा भैँसीपालन घटेकाले पनि यो खेती लोप हुँदै गएको किसानको भनाइ छ। मादुरो, कोदो र जौलगायतका अन्नबाट बन्ने अधिकांश परिकार घिउ, मोही र दुग्धजन्य पदार्थबाट बन्ने भएकाले पनि भैँसी लोपसँगै यो खेती पनि लोप भएको उनीहरूको भनाइ छ।

कोदो, मादुरो र भटमासबाट बनेका परिकार बालबालिका, गर्भवती सुत्केरी आमाका लागि निकै फाइदाजनक रहेपनि पछिल्लो समयमा यसको प्रयोग हुन छाडेको छ।

नयाँ पुस्ताका मानिसले कोदो, मादुरोजस्ता बालीको महत्व नबुझ्दा पनि यी बाली लोप हुँदै गएको बताउँछन्, दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्ट। हराउँदै गएका यी बालीहरुको सरंक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास गर्नुपर्ने उहाँ खाँचो औँल्याउँछन्।

जिल्लाको तत्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अहिले कतैकतै यी अन्नको खेती गरेको देख्न सकिन्छ। तर, यो तुलनात्मक रूपमा निकै कम भइसकेको छ। हुन त स्थानीय जनप्रतिनिधिले परम्परागत खेतीको संरक्षण गर्ने बताउँदै आएका छन्। पुराना बालीको संरक्षणका लागि गाउँपालिका लागिपरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको भनाइ छ।

नयाँ बालीबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बाली लोप हुँदै गएका छन्। कृषि ज्ञान केन्द्रमार्फत र कृषि क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले किसानलाई यी बालीको महत्वका बारेमा बुझाएर तालीम दिन सक्यो भने संरक्षण गर्न सकिने बागबानी अधिकृत लक्ष्मीदत्त पाण्डेयको भनाइ छ।

एउटा त यी अन्नबाट पाइने पौष्टिक तत्वको बारेमा किसानलाई जानकारी नभएकाले यो खेती लोप भएको छ भने अर्को गाउँमा दुग्धजन्य पदार्थको अभावका कारण पनि यो खेती घटेको पाइन्छ । त्यसैले यी परम्परागत बालीको महत्वका बारेमा जानकारी गराई यी बालीलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यसबाट बन्ने विभिन्न परिकारका बारेमा जानकारी गराई यस्ता बालीलाई संरक्षण गर्न जरुरी छ ।