रुकुम पूर्व। रुकुम पूर्वको चुनवाङमा कृषि उत्पादन क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउन पहल गरिएको छ । स्थानीय सरकारको पहलमा चुनवाङलाई लसुन, आलु र कागतीको पकेट क्षेत्र बनाउने तयारी थालिएको हो ।

यो वर्ष लसुन उत्पादन वृद्धि गर्न बीउमा अनुदान दिने तयारी गरिएको छ । वडा सरकारको निर्णयअनुसार करीब पचास क्विण्टल बीउ अनुदानमा दिने तयारी गरिएको छ । ‘लसुनको बीउ साह्रै महँगो भयो भन्ने किसानको गुनासो आयो,’ भूमे गाउँपालिका ९ का अध्यक्ष प्रवेश पुनले बताए । उनले भने, ‘प्रतिकेजी ५० रुपैयाँ किसानले तिर्ने र बाँकी मूल्य वडा सरकारले तिरिदिने गरी लसुनको बीउमा अनुदानको व्यवस्था गरेका छौं ।’

किसानले उत्पादन गरेको लसुनको बजार समस्या हुने सम्भावनालाई ध्यानमा राखी सबै उत्पादनको बजार जिम्मा वडाले लिने निर्णय गरिएको अध्यक्ष पुनले बताए । ‘अहिले पनि किसानले उत्पादन गरेको लसुनको बजार हामीले बनाइरहेका छौं,’ उनले भने, ‘हाम्रै पहलमा दाङलगायत अन्य स्थानमा पनि लसुन विक्री भइरहेको छ, हामीले ५० क्विण्टल लसुन जिम्मा नै लिइसकेका छौं ।’

आगामी ५० क्विण्टल बीउ नै बाँड्ने तयारी भएकाले र यसबाट हुने उत्पादनको बजार पनि वडाले मिलाउने भएकाले किसानलाई ढुक्कसँग उत्पादन गर्न आग्रह गरिएको अध्यक्ष पुनले बताए । किसानलाई लसुन खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले धेरै उत्पादन गर्ने किसानलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

सबैभन्दा धेरै लसुन उत्पादन गर्ने किसानमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १०, ७ र ५ हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, सबैभन्दा धेरै आलु र कागती उत्पादन गर्ने किसानलाई पनि क्रमशः ५, ३ र २ हजार पुरस्कार दिने निर्णय गरिएको वडा अध्यक्ष पुनले बताएका छन् ।