ललितपुर। चालू आर्थिक वर्षमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

किसानलाई मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको हो । चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब १२ देखि १३ प्रतिशत धान उत्पादनमा वृद्धि हुन सक्ने अनुमान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप नभए १३ प्रतिशत वृद्धि हुन सक्ने सुवेदीले बताए । उनले भने, ‘किसानहरूले धान काट्न सुरुवात नै गरेका छैनन्, अहिले नै यति नै उत्पादन हुन्छ भन्नेर यकिन गर्न कठिन छ ।’यस वर्ष मनसुनले किसानलाई राम्रो साथ दिएको हुँदा धान उत्पादन १० देखि १३ प्रतिशत वृद्धि हुने राष्ट्रिय किसान समूह संघका अध्यक्ष उद्धव अधिकारी बताउँछन् ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार, नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । कुल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ ।

नेपाल पहाडी मुलुक भएको हुँदा नेपालको अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । खेती लगाउने समयमा मुनसुनले साथ नदिएपछि खेती किसान मर्कामा पर्छन् ।

धान रोप्ने समयमा पानी आएन भने पहाडी भेगका अधिकांश जमिन बाँझो हुने सम्भावना धेरै हुन्छ । धान खेती लगाउने मौसम (असार–साउन) मा वर्षा नभए सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन ।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ भएको थियो । सो धान खेती रोपाइँ भएकोमा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टक धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाइँ भएकोमा ५२ लाख ३० हजार ३२७ मेट्रिक टक उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएकोमा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

चालू आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २८ साउनसम्मको तथ्यांकअनुसार यस वर्षमा देशभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमध्ये १४ लाख ८१ हजार १३ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

नेपालका उच्च पहाडी भेगमा ५८ हजार १५८ हेक्टर जमिनमध्ये ५५ हजार ९५८ हेक्टर जमिनमा रोपाइँ भएको छ । यस्तै प्रतिशतका आधारमा उच्च पहाडमा ९६ दशमलव ५१ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ । त्यस्तै मध्यम पहाडमा ३ लाख ९९ हजार ६७८ हेक्टर जमिनमध्ये ३ लाख ७६ हजार ८६ हेक्टर जमिनमा रोपाइँ भएको छ । मध्य पहाडी भेगमा ९४ दशमलव १० प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाउँछ । यस्तै तराईमा १० लाख ९४ जहार ६३६ हेक्टर जमिनमध्ये १० लाख ४८ हजार ९४२ हेक्टरमा रोपाइँ भएको छ । चालू आर्थिक वर्षमा ९५ दशमलव ८३ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ ।