ललितपुर। उखु उत्पादक किसानको मूल्य पाँच दिनभित्र भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ । लामो समयदेखि उखु किसानहरुले उचित मूल्य बेलैमा नपाउने समस्या बढेपछि सरकारले उद्योगीहरुलार्इ कारबाही गर्ने तयारी गरेको हो ।

सोमबार अर्थ, कृषि, उद्योग, वन र सामान्य गरी पाँच मन्त्रीको संयुक्त बैठक बस्दै पाँच दिनभित्र उखु उत्पादक किसानलार्इ भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नदिए उद्योगीलार्इ नै पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको हो । यसबारे तयारी समेत थालिएको बताइएको छ ।

संसदको सार्वजनिक लेखा समितिले पनि एक साताभित्र उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन दिएपछि मन्त्रीहरुको बैठक बसेको हो ।

उखु किसानहरुले समेत बेलाबेला भुक्तानी माग गर्दै नपाएमा आन्दोलन नै गर्ने चेतावनी दिँदै आएका छन् ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री पण्डित थिए । साथै सम्बन्धित मन्त्रालयका सचिवहरु पनि सो छलफलमा सहभागी थिए ।