
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका केही वडालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनका लागि छनोट गरिएको छ ।
अलैंची खेतीको विकास र विस्तार गर्दै जिल्लालाई अलैंचीको सुपर जोन बनाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गर्ने गरी ती ठाउँहरूलाई छनोट गरिएको हो ।
फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै वडाहरू, फक्ताङलुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडाहरू, आठराई त्रिवेणीको ४ र ५ साथै मेरिङदेनको १ र २ वडालाई चालू आर्थिक वर्षमा परियोजना सञ्चालनका लागि छनोट गरिएको बताइएको छ । यी सबै ठाउँमा गरी चालू आर्थिक वर्षमा करीब रू. ८० लाखभन्दा बढीको कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
परियोजना व्यवस्थापन एकाइका वरिष्ठ कृषि अधिकृत परशुराम रावतका अनुसार परियोजनाका लागि छनोट भएका क्षेत्रको प्रतिवेदन मन्त्रालयबाट स्वीकृत भएर आएपछि कार्यान्वयनका लागि बाटो खुल्नेछ ।
छनोट भएका क्षेत्रमा स्थानीय कृषकको माग र आवश्यकताका आधारमा अलैंची खेतीको विस्तार र उत्पादन वृद्धिका लागि कार्यक्रम सञ्चालन हुनेछन् ।
१ नगरपालिका र ८ गाउँपालिका रहेको यस जिल्लाको ओलाङचुङगोला बाहेकका सबै क्षेत्रमा अलैंची खेती हुँदै आएको छ । गत वर्षको सिजनमा मात्रै यस जिल्लामा २ हजार ९ सय ४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।
पछिल्लो समयमा अलैंचीको मूल्यमा कमी र बजारीकरणको समस्यालगायतले अलैंची किसान निराश हुँदै आएका छन् ।