ललितपुर । गौशालामा रहेका ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न भण्डारमा सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा भण्डारमा साङ्ला र फोहोर अत्याधिक भेटिएपछि शिलबन्दी गरेको हो ।

दुवै मिष्ठान्न भण्डारबाट बर्पी १२.५ केजि , तेल ७ लिटर, घ्यू ४ केजि र तयारी मिठाई एक सय केजि नष्ट गरिएको थियो ।

खाद्य गुणस्तर कायम नगर्ने र गुणस्तरहीन खाद्यसामग्री बेच्नेलाई नयाँ नियमअनुसार कारबाही गरिने खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न भण्डारलाई न्यून गुणस्तरीय खाद्यान्न बेचेको अभियोगमा मुद्दा दायर गरिने उहाँले जानकारी दिनुभयो । विभागले ३ दिन भित्र कागजातसहित महाशाखामा उपस्थित हुन आदेश दिएको छ ।

अनुगमनको प्रकृयालाई अब निरन्तरता दिइने खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । कृषि मन्त्रीले खाद्य स्वच्छता अभियान सुरुवात गरेपछिको यो दोस्रो अनुगमन हो ।

मिठाइको भण्डारण फोहोर र जताततै साङ्ला भेटिएकोले शिलबन्दी गर्न बाध्य भएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताउनुभयो ।

यसअघि अनुगमन टोलीले नयाँ बानेश्वरमा रहेको संगम स्वीट्समा शिलबन्दी गरेको थियो । संगममा मिठाईमा प्रतिबन्ध गरिएको केमिकल ‘हाइड्रो ए वान’ भेटिएको थियो भने किचन फोहोर थियो ।