म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक टिम्मुर खेतीमा आर्कषित भएका छन् ।

आधा दशक अगाडीसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशमा माग बढेपछि स्थानीय टिम्मुर खेतीमा लागेका हुन् ।

खेतबारी, सामुदायिक बनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा विक्री गरेर कमाई हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुरखेती अहिले गाउँका १ सय ५० घरधुरीले टिम्मुरको खेती सुरु गरेका छन् । एकल तथा सामुहिक प्रयासबाट एक बर्षमा करिव ३० लाख सम्म आम्दनी हुने गरेको छ ।

नेपालमै प्रतिकेजी १८ सय देखी विदेशमा २२ सयसम्म विक्री भइरहेको छ । कमजोर आर्थिक अवस्था भएका तोरिपानीका दलित बस्तीमा बसोबास गर्नेले समेत टिम्मुरखेती विस्तार गरेपछि विदेशबाट फर्किएकाले टिम्मुरमै आफ्नो समय खर्च गर्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर र दलित र एकल महिलालाई सामुदायिक बनमा फलेका टिम्मुर टिप्न छुट दिइएको छ ।

टिम्मुर खतीबाट बिदेशको भन्दा राम्रो आम्दानी गाउँमै हुन थाले पछि गाउँले सबै टिम्मुर खेतीमा होमिएका छन् । कृषि प्रधान मुलुकमा कृषिबाटै राम्रो आम्दानी भएपछि श्रम बेचेर विदेश जानु नपर्ने सोच बनाएका बेनीवासीको प्रयास लोभलाग्दो मात्रै नभई प्रेरणादायी पनि छ ।