
ललितपुर। शैक्षिक प्रमाणपत्र भएर पनि बेरोजगार हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् आज दृखि तपाईले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउनुहन्छ ।
सरकारले शैक्षिक प्रमाण पत्र राखेर धितो पाईने ब्यबस्था गरेपछि आर्थिक अभावमा उद्योग सुरु गर्न नपाएकालाई सजिलो हुने भएको छ । शैक्षिक प्रमाण पत्र राखेर धितो कर्जा आज (आइतबार)देखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधी ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ ।
मन्त्रालयले आईतवार सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधीअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन सकिन्छ ।
पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा । यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक उत्तिर्ण गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ ।
शिक्षित यूवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ । ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ । सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।
माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष उमेर नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन् । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् ।
यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ । उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ ।
यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र आवश्यक पर्छ । प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ ।
आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नुपर्छ । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी गराउनुपर्छ ।
यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुने छ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुने छ ।
विदेशबाट फर्किएकालाई सस्तो ब्याजमा १० लाखसम्म ऋण :
वैदेशिक रोजगारीबाट फर्किएका, उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार रहेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ ।
सरकारले आन्तरिक उत्पादन बढाउने लक्ष्यका साथ व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जा ५ प्रतिशतको सहुलियत ब्याजदरमा ५ करोडसम्म ऋण दिने व्यवस्था गरेको हो ।
यस्ता विभिन्न व्यवस्था गर्न बनेको ब्याज अनुदान सम्बन्धी कार्यविधि -२०७५लाई शुक्रबार मन्त्रिपरिषदले पास गरेको हो । कार्यविधिमा विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज पाउने व्यवस्था गरिएको छ । त्यस्तै शैक्षिक बेरोजगारलाई स्वरोजगारीका लागि पनि सस्तो ब्याजदरमा ऋण दिन सकिने व्यवस्था भएको छ ।
दलित समुदायमा व्यवसायिक क्षमता विकास गर्न र उच्च शिक्षाका लागि शैक्षिक कर्जा लिन सकिने व्यवस्था पनि कार्यविधिबाटै गरिएको छ ।
महिला उद्योगीलाई दिइने सहुलियत ब्याजदरको कर्जा पनि यसमै समेटिएको छ । भूकम्प पीडितलाई घर निर्माणका लागि ३ लाखसम्म ५ प्रतिशतको सहुलियत कर्जा दिन लागिएको छ ।