एजेन्सी/प्योङयाङ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले शान्तिको प्रतीक स्वरुप दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् । कोरियाली शीखर सम्मेलनको समयमा किमले च्याउ उपहार दिने फैसला गरेका हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामै भएको समयमा यो उपहार दक्षिण कोरिया पठाइएको छ । उपहारमा दिइएको यो पाइन च्याउ विशेष मानिन्छ ।

दुई देशको विभाजनका कारण छुट्टिएका परिवारलाई यो च्याउ दिइने दक्षिण कोरियाली राष्ट्र पति मुन जे इनले बताए । अनुमानका अनुसार ४ हजार परिवारलाई यो करिब आधा–आधा किलोको रुपमा वितरण गरिनेछ ।

यो भन्दा पहिले कुनै समयमा एक अर्काको प्रतिद्वन्द्वीका रुपमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाका नेताले कोरियाली सम्मेलनको अन्तिम दिनमा मनमोहक ज्वालामुखीको चट्टानमा बसेर एक अर्कासँग हात मिलाएका थिए । यो ज्वालामुखीलाई उत्तर कोरियामा पवित्र मानिन्छ ।

दुवै नेताले उत्तर कोरिया–चीनको सीमामा रहेको पहाडमा गएर तस्बिर पनि खिचाएका थिए । यसको एक दिन पहिले दुवै देशले कैयौ नयाँ सम्झौता पनि गरेका छन् । यो सम्झौतालाई शान्तिको दिशामा अहम कदम मानिदै आएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीबार फरक फरक वायु मार्गबाट पेकतु पर्वतमा रहेको हवाई अड्डामा पुगेका थिए । उक्त स्थानमा दुवै नेताको भेटघाट भएको थियो । पछि पहाडमा तस्बिर लिदाको समयमा दुवै नेता मुस्कुराएका थिए ।