तनहुँ। तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् ।
यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो । “विसं २०५२/५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भन्नुभयो ।
त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१/७२ देखि भने कफीको राम्रो माग रहेको उहाँले बताउनुभयो ।
यस ठाउँका २७ कृषकले कफीखेती शुरु गरेका छन् । बालकेश आधारभूत विद्यालयमा प्रधानाध्यापकसमेत रहनुभएका कफी कृषक आशकुमार गुरुङले आर्थिक रूपमा सवल बन्न कफीखेती शुरु गरिएको बताउनुभयो । “शिक्षण पेशा छाडेपछि पूर्णरूपमा यही खेतीमा आबद्ध हुनेछु”, उहाँले भन्नुभयो, “छिपछिपेलाई कफी र सुन्तलाको पकेटक्षेत्र बनाउने सोच छ ।”
समूहका अध्यक्ष तुलबहादुर गुरुङले छिपछिपेमा ५० रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको बताउनुभयो ।
उहाँका अनुसार छिपछिपेबाट गत आवमा ६ क्विन्टल कफी बिक्री भएको थियो । प्रतिकिलो रु ५०० का दरले कफी बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
कृषकले उत्पादन गरेको कफी तनहुँ कफी व्यवसायी सङ्घलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यहाँ उत्पादित कफी अमेरिका, जापान, जर्मनलगायतका युरोपियन देशमा निर्यात हुने गरेको छ ।
अर्गानिक पद्धतिबाट गरिएको कफीको विदेशमा राम्रो माग रहेको छ । मङ्सिरदेखि फागुनसम्म कफी टिप्न शुरु गरिने र वैशाख जेठमा बिक्री हुने गर्दछ ।