
ललितपुर। बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बेचेरै जिवीका चलाईरहनु भएकोछ ।
बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहनु भएको हो ।
उहाँले २५ वर्षदेखि यही पेसा अगाल्दै आउनु भएको छ । उहाँ बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा तरकारी बेच्न पुग्नु हुन्छ । बिहानको खेप ८ बजेभित्र सकेपछि उहाँ फर्केर घरको काम भ्याई दिउँसो २ बजेपछि फेरि दोस्रो खेप तरकारी बेच्ने गर्नु भएको छ ।
यसरीनै उहाँले चार सन्तान हुर्काभएको छ । आफूले पढ्न लेख्न नपाएपनि छोराछोरीलाई पढाउन सफल भएको उनी बताउँछिन् । डोकोमा तरकारी बेचेर कमाएको पैसाले खाने लाउनेदेखि पढाएर पनि बचत समेत गर्ने भएको उहाँ सुनाउनु हुन्छ । तीन छोरी र एक छोरालाई डोकोमा हालेर बेचेकै तरकारीले हुर्काई पढाइ साँथैं छोरीको विवाह खर्च पनि जुटाउनु भएको बताउनु हुन्छ ।
बीस वर्षअघि उहाँको श्रीमान् बितेका हुन् । उहाँ भन्नु हुन्छ “ठूला साहुको ठूलै ऋण हुन्छ रे, मैले अहिलेसम्म कसैको एक रुपैयाँ पनि खाएको छैन ।” डोकोभरि तरकारी लगेर बेचेपछि घर फर्कंदा उनले सबैको पैसा तिर्ने गरेको र बचेको पैंसाबाट खर्च कटाई बागलुङ नगरपालिका–३ स्थित मिर्मिरे कृषि सहकारी संस्थामा बचत समेत गर्नु भएकोछ । बिरामी हुँदा उपचार खर्च हुन्छ र मौकामा खर्च गर्न पाइन्छ भनेर खाता खोलेको उनी सुनाउछन् ।
सहकारीका सदस्यहरुले गाउँभरि तरकारी खेती गरेका छन् भने तरकारी कृषि फार्मबाटै बिक्री समेत हने गरेकाछन् । किसानले बाँकी तरकारी डोकोमा बोकेर बजारका घर–घरमा लैजाने गरेकी हुन् । उनले हरेक दिन कम्तीमा १०० केजी तरकारी बिक्री गर्ने गरेको बताउनु भयो । साग, काउली, बन्दागोभी, केराउ, गोलभेडा लगायतका तरकारी बिक्री गर्नुनै उनको दिनचर्या बनेको छ ।
विदेश जान खोजेको छोरोलाई पनि कृषि पेसामै लाग्न किसानले सल्लाह दिएको बताउनुहुन्छ । खेती गर्न गाउँमै जग्गा भाडामा लिन पनि पाइने भएपछि छोरा दीपकले आमाको पेशालाई साथ दिने योजना बनाएको भनाईछ ।
बजारको समस्या नभएकाले र राम्रै आम्दानी हुने भएकाले छोरोलाई खेतीपातीमा प्रेरित गरेकी उहाँ बताउँनुहुन्छ ।
मासिक ३० हजार रुपैयाँसम्म कमाइ गदै आएको उनको भनाई छ । गाउँसम्म मोटरबाटो पुगेकाले अझ तरकारी खेती गर्नसके बिक्रिको लागि बजारको समस्या नपर्ने उनी बताउँछिन् । लोकल तरकारीको बढी माग हुने भएकाले धान्नै मुस्किल परेको स्थानीय तरकारी व्यपारीको भनाई छ ।
पछिल्लो समय बागलुङ बजारमा तरकारीको चर्को अभाव छ । स्थानीय उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले तराईबाट समेत तरकारी आयात हुने गरेको छन् ।
तरकारीको बजार राम्रो रहेको भए पनि एकाध युवाबाहेक कृषिजन्य उत्पादनको कारोबारमा लाग्ने जनशक्तिको अभाव रहेको देखिन्छ ।