ईलाम। सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् ।

सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र बीमासहितको थप सेवा सुविधा नपाएको भन्दै प्रदेश १ का चिया मजदुर आन्दोलित बनेका हुन् ।

चिया बगान मालिकले नयाँ श्रम ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद गरेकाले आफुहरु आन्दोलनमा उत्रनु परेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ्ले जानकारी दिनुभयो ।

चिया मजदुरले सरकारले लागू गरेको पारिश्रमिक सहितको सेवा सुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र बर्षको २६ दिन बिदा हुनुपर्ने लगायतका माग राखेका छन् ।

देशभरका चिया बगानमा चिया टिप्ने समयमा ५० देखि ६० हजार मजदुरले काम गर्दछन् भने नियमित रुपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गर्दै आएका छन् ।

झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा हजारौं मजदुर कार्यरत छन् । उनिहरुले दैनिक ८ घण्टा काम गरेपनि दैनिक २ सय ७८ रुपैयाँ मात्र ज्याला पाएको उनीहरुको गुनासो गरेका छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भइसकेको छ ।

पटक–पटक वार्ता, सम्वाद र सम्झौता भए पनि चिया व्यवसायीले कहिल्यै कार्यान्वयन नगरेको मजदुरको भनाई छ । सरकारले तोकेको ज्याला नै श्रमिकहरुले नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनिहरुको भनाई छ ।