रौतहट। रौतहटका किसानले रसायनिक मल नपाएपछि शुक्रबार चन्द्रनिगाहपुरस्थित रहेको कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय घेरेका छन् ।

कम्पनीले कृषि सहकारी संस्थामार्फत किसानलाई सहुलियतमा रसायनिक मल वितरण गर्ने बताए पनि किसानले मल नपाएपछि सो कार्यालय घेराउ गरेका हुन् ।

धानमा युरिया मल राख्ने बेला भएकाले ग्रामीण भेगबाट किसान रसायनिक मल लिन कार्यालयमा आएपछि कम्पनीले मल नदिएको भन्दै कम्पनीको कार्यालय घेराउ गरेको सन्तपुरका किसान रामपुकार चौधरीले बताए ।

कम्पनीले ७४० रुपैयाँ प्रतिबोरा युरिया मलमा १२ रुपैयाँ ५० पैसा छुटमा सहकारीलाई दिएको छ । बजारमा प्रतिबोरा युरिया मलको ८ सय रुपैयाँसम्म पर्ने गरेको छ । किसानले भने समयमा नै रसायनिक मल युरिया नपाएको गुनासो गरेका छन् ।

धान गोडेर मल हाल्ने बेला भइसकेकाले मल लिन आउँदासमेत नपाएपछि किसान चिन्तित भएका छन् । कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जबाट केहि दिनअघि १०२ मेट्रिक टन युरिया मल ल्याएको थियो । त्यसपछि शुक्रबार बिहान कम्पनीले १२२ मेट्रिक टन युरिया मल ल्याएको छ । कम्पनीमा पर्याप्त मात्रामा रसायनिक मल रहेकाले अभाव भने नभएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख सुगन तिवारीले बताइन् ।

उनले कृषि सामग्री कम्पनी लिमिटेडले १७७ मध्ये १३० सहकारी संस्थालाई रसायनिक मल उपल्वध गराउँदै आएको जानकारी दिइन् । करिब ६ सय किसानले युरिया मलको माग गरेको कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरले जनाएको छ । किसानले कार्यालय घेराउ गरेपछि केही किसानलाई मल वितरण गरिएको थियो ।

यता कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरले विभिन्न सहकारीमार्फत वितरण गरेको मल चन्द्रनिगाहपुरका व्यापारीको पसलमा पुग्ने गरेको छ ।

कम्पनीले सहकारीलाई सर्वसुलभ दरमा उपलब्ध गराएको भए तापनि केही सहकारीका सञ्चालकले सिधै व्यापारीलाई दिने गरेको पाइएको छ । कम्पनीमा ७४० मा पाइने युरिया मल पसलमा १ हजार ५ सयमा समेत बेच्ने गरेको पाइएको छ ।