
काठमाडाैं। कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तरकारी तथा फलफूलमा अनियमितता भएकोभन्दै अनुगमन गरेपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना पक्राउ परेका थिए । पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।
अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ ।
सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ।
महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ।