
ललितपुर। नेपालमा पहिले पटक अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम–२०१८ आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर चितवनको आयोजनामा यो सम्मेलन आयोजना हुन लागेको हो ।
”खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति” भन्ने नाराका साथ सो सम्मेलन आगामी कार्तिक ११ गते देखि १३ गतेसम्म आयोजना गर्न लागिएको आज काठमाडौँमा आयोजित पत्रकारसम्मेलन मार्फत जनाईएको छ । सम्मेलनको बारेमा जानकारी दिँदै सम्मेलन मूल आयोजक समिति अध्यक्ष प्रा.डा. शारदा थपलियाले नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश र इजिप्ट लगायतका १० देशका ५० भन्दा बढी वैज्ञानिक सहभागि हुने निश्चित भइसकेको जानकारी दिइन् ।
सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक–आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधाहरुमा वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिने आयोिजकले जनाएका छन् ।
सम्मेलनमार्फत भविष्यमा कुखुरापालनको क्षेत्रमा प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको संप्रेषण हुने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिकहरु, अनुसन्धान निकायहरु, विश्वविद्यालयहरु, सरकारी एवम् गैरसरकारी संस्थाहरुको बीचमा वृहत सञ्जाल र सहकार्यको विस्तार भई पन्छीजन्य उत्पादन एवम् गुणस्तर वृद्धिको लागि महत्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।
सम्मेलन नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी, अमेरिका, खाद्य तथा कृषि संगठन हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्पन्न हुने लागेको हो ।