सिमरा। सरकारले दूधको मूल्य घटाएको विरोधमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

बिहीबार बिहान जितपुरसिमरा उपमहानगरपालिका˗१८ मनहर्वाका किसानले सरकारको विरोधमा सडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्द्रमा आबद्ध १५० बढी किसानले मानमत˗कलैया सडक खण्डको मोतीचोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादकलाई दिँदै आएको (टीएससी) टोटल सोलिड कमिसनमा कटौती गरेपछि सोको विरुद्धमा किसानहरू आन्दोलित भएका हुन् ।

उक्त निर्णयबाट दूध उत्पादक किसानलाई तीन रुपैयाँसम्म प्रतिलिटरमा मर्का परेको भन्दै गत शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

डीडीसीले चितवनमा प्रतिलिटर २५ र मकवानपुर, बारामा प्रतिलिटर १२ पैसा सिधै दूधमा कमिसन दिँदै आएकोमा दूधमा नदिएर आफैंले उत्पादन गर्ने दाना दिन सकिने बताएको छ ।

संस्थानले दुग्ध उत्पादक किसानलाई निजी डेरी तथा सहकारीमार्फत विभिन्न शीर्षकमा दिँदै आएको साबिक मूल्य दिनुपर्ने, उत्पादित दूधको बजार ग्यारेन्टी गर्नुपर्ने, उत्पादन लागतको आधारमा मूल्य समायोजन गर्नुपर्ने, दुग्ध विकास संस्थानलाई पुनरसंरचना गरी सहकारीमा रूपान्तरण गर्नुपर्ने र दूधको मूल्य निर्धारण समिति बनाइनुपर्ने माग किसानको रहेको जिल्ला दुग्ध उत्पादक संघ बाराका अध्यक्ष दिलबहादुर लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सरकारले अविलम्ब किसानका माग सम्बोधन गर्दै दूधको मूल्यवृद्धि नगरे थप आन्दोलनका कार्यक्रम गर्ने दुग्ध किसानले चेतावनी दिएका छन् ।