धनगढी ।  आठ दिनदेखि आन्दोलनरत कैलालीका किसानले आइतबार मुख्मन्त्री कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

सरकारले कृषिमुखी नीति र बजेट ल्याए पनि राज्यबाट प्रदान हुने सेवा सुविधा प्रदेश सरकारले खोस्न थालेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । यस अघि जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय यथावत राख्नुपर्ने माग समेत उनीहरुले राखेका छन् ।

आइतबार मन्त्रालय अगाडि गरिएको धर्ना कार्यक्रमपछि आयोजित कोण सभामा बोल्दै किसान नन्दलाल भट्टले सरकारका गलत निर्णयविरुद्ध आन्दोलन थालिएको बताए ।

कृषिलाई प्राथमिकता दिने नीति ल्याएको भन्ने सरकार जिल्लामा भएका पशु तथा वाली विशेषज्ञलाई केन्द्रमा तान्ने गलत नीति ल्याउन थालेको भन्दै उनले सरकारविरुद्ध आन्दोलन गरिएको बताए । ‘स्थानीय तहमा कृषि शाखा राखे पनि जेटिए खटाएका छन्,’ उनले भने,‘उनीहरुलाई कृषि सम्बन्धी पर्याप्त ज्ञान छैन, कृषि विशेषज्ञलाई जिल्लाबाट विस्थापित गरिँदा किसानले बाली तथा पशुको उपचार कसरी गर्ने ?’ सरकारले जिल्लामै विशेषज्ञ पशु चिकित्सकसहितको सेवा उपलब्ध नगराए आफूहरु अझै आन्दोलनमा उत्रने चेतावनी पनि उनले दिए ।

केरा किसान लक्षीराम आचार्यले जिल्लामा रहेको पशु तथा कृषि कार्यालय खारेज गरेर सरकारले किसानको व्यवसायमा लात हान्न खोजेको आरोप लगाए । ‘आफ्नै देशमा केही गरौँ र अरुलाई पनि सकेको रोजगारी सिर्जना गरौ भन्दा पनि सरकारले नै विस्थापित गर्न खोजेको छ,’ उनले भने ।

जिल्लामा रहेका कार्यालय हटाएर कैलाली कञ्चनपुरको एउटा मात्रै कृषि तथा पशु कार्यालय खोल्ने तयारी सरकारले लिएको बताउँदै उनले भने, ‘सरकारको यस्तो नीतिले यहाँका सयौ किसानका व्यवसाय चौपट हुनेछन्, त्यसो नहोस भनेरै हामी आन्दोलनमा उत्रेका हाँै ।’ भेटेरिनरी तथा कृषि ज्ञान केन्द्र कैलालीमा स्थापना गर्न प्रदेश सरकार बाधक बनेको आन्दोलित किसानको आरोप छ ।

पटक–पटक सरकारलाई ध्यानाकर्षण गराउँदा पनि यस क्षेत्रलाई उपेक्षा गर्न सरकारले भूमिका खेलेकाले आफूहरु आन्दोलन गर्न बाध्य बनेको आन्दोलन संघर्ष समिति संयोजक यज्ञ बास्तोलाले बताए ।

भेटेरिनरी तथा कृषि विज्ञान केन्द्र स्थापनाका लागि प्रदेश सरकारले तयार पारेको खाकामा कैलाली नपरेको उनले बताए । प्रदेशकै कृषि तथा पशुपालनमा ठूलो हिस्सा ओगटेको जिल्लामा भेटेरिनरी तथा कृषि ज्ञान केन्द्र प्रस्तावमै नपरेपछि आफूहरु आन्दोलित हुन बाध्य भएकोे विवेक पोल्ट्री फर्मका प्रमुख विवेक भट्टले बताए ।

प्रदेश ७ का अन्य जिल्लाको तुलनामा कैलालीमा सबैभन्दा बढी कृषि व्यवसाय अपनाएका व्यवसायी रहे पनि सरकारले यसै क्षेत्रलाई कृषि विशेषज्ञविहीन बनाउन खोजेको भन्दै उनले आपत्ती जनाए । उनले कैलालीमा भेटेरिनरी तथा कृषि ज्ञान केन्द्र स्थापनाको पहल नहुँदासम्म प्रदेश सरकारविरुद्ध प्रदर्शन जारी रहने बताए ।