
धनकुटा। एवोकार्डोको धनकुटामा व्यवसायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् ।
धनकुटा तीन कागतेका दामोदर वाग्लेले करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा दुईलाख रुपैयाँको एवोकाडो बिक्रि गरे ।
राम्रो बजार मूल्य र लामो उत्पादन अबधिका कारण उनी सुन्तला र अरु नगदेवाली छाडेर एवोकाडो खेतिमा लागेका हुन् । आम्दानी राम्रो हुने देखेपछि ६ रोपनी जमिनमा ६५ विरुवा थपेको दामोदर वाग्ले बताउँछन् ।
भर्खरैमात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो । बगैचा बिस्तार हुने क्रम बढेपछि स्थानीय नर्सरीले भनेजति विरुवा दिन नसकेको नर्सरी सञ्चालक भिमराज अधिकारी बताउँछन् ।
अमेरिका र मेक्सिको लगायतका मुलकबाट भित्रिएको बताइने यसको व्यावसायिक खेति समुन्द्रि सतहको ५ सय देखि १७ सय मिटर उचाइको उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिन्छ । रोपेको ४ देखि ६ वर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक संभावना रहेको कृषि अभियान्त जिवन राईको भनाई छ ।
एवोकार्डौको माग उपभोक्तामा दिनदिनै बढ्दै गएको छ । प्रसस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइन यो फलको माग धानीनसक्नु छ ।
यो खेतिमा लागेका किसानलाई हौसला दिन हावापानी अनुसार उपयूक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन सबन्धि सरोकारवाला निकायले ध्यान दिनु जरुरी देखिन्छ ।