काठमाडौँ। सरकारले कालीमाटी तरकारी बजार बन्द गरेर त्यसको विकल्पमा काठमाडौँ र भक्तपुरको सीमानदी मनोहराको किनारमा नयाँ तरकारी बजार खोल्नका लागि अध्ययन थालेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै कालिमाटी तरकारी बजार दलालहरुको हातमा रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी दिए ।

‘साउन मसान्तसम्म कालिमाटी तरकारी बजारको अवस्था नसुध्रिएमा त्यसलाई सरकारले बन्द गरिदिन्छ, वातावरण सुधार्न चेतावनी दिइसकेको छु’, मन्त्री खनालले भने, ‘तीन पुस्तादेखि कब्जा जमाएर बसेका दलालका कारण कालिमाटी तरकारी बजार उपभोक्ता ठग्ने ठाउँ भएको छ ।’

कालिमाटी तरकारी बजारको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँदै मन्त्री खनालले अब सरकारले काम थालेको बताए । ‘कालिमाटीको विकल्पमा मनोहराको सुकुम्बासी बस्तीमा तरकारी बजार खोल्न काम थालेका छौँ’, उनले भने, ‘वास्विक सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्ने योजना पनि बनाउँदैछौँ ।’

कालिमाटी तरकारी बजारमा तीन लेयरमा दलालहरु रहेको बताउँदै मन्त्री खनालले जसका कारण कृषकदेखि उपभोक्तासम्मको ढाड सेक्ने काम भएको उल्लेख गरे । ‘कालिमाटी तरकारी बजारमा तीन पुस्तादेखि कब्जा जमाइएको छ’, उनले भने, ‘साउन मसान्तसम्म बजारको अवस्था नसुध्रिएमा बजार बन्द गरिन्छ ।’

मन्त्री खनालले तरकारीमा विषादी प्रयोगक एकै पटक निषेध सम्भव नभएको बताउँदै विषादी उत्पादन नै विस्तारै घटाउँदै लानु जरुरी रहेको बताए । ‘विषादी उत्पादनलाई घटाएर प्रयोगमा निषेध गरिने वातावरण सरकारले बनाउँछ’, उनले भने, ‘त्यसका लागि सरकारले तयारी थालेको छ, केही वर्षभित्र तरकारी र खाद्यान्नमा प्रयोग हुने विषादी बन्द गराउँछौँ ।’