
स्याङ्जा। सरसफाइयुक्त वडा घोषणा गरेर ग्रिन वडाको अवधारणा अघि बढाएको वडालाई आत्मनिर्भर बनाउन फलफूलका बिरुवा वितरण गरिएको छ ।
गल्याङ नगरपालिका वडा नं. १० ले वडावासीलाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको हो ।
३५० घरधुरी रहेको वडामा १ घर १२ फलफूल कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा बिरुवा वितरण गरिएको वडाध्यक्ष धुव्रप्रसाद शर्मा पंगेनीले बताए ।
१२ फलफूलमध्ये ८ कागती, १ लिची, २ आँप, १ अनार गरी प्रत्येक घरलाई १२ बिरुवा वितरण गरिएको अध्यक्ष पंगेनीले जानकारी दिए । आफैंले उत्पादन गरेका अर्गानिक फलफूल घरायसी प्रयोजन तथा व्यावसायिक रूपमा समेत अघि बढाउन सकिने अध्यक्ष पंगेनीको भनाइ छ ।फलफूल खेतीको सम्भावना बोकेको वडालाई फलफूलमा आयातभन्दा पनि निर्यात गराउन सकिन्छ भन्ने उद्देश्य वडा कार्यालयको रहेको छ ।
कागतीलाई व्यावसायिक रूपमा अघि बढाउने योजना रहेको भन्दै अध्यक्ष पंगेनीले भने, ‘आगामी चार वर्षभित्र १ घर ३० कागतीका बोट हुनेछन् ।’ विभिन्न रोगलाई समेत निर्मूल पार्ने स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक कागतीको व्यावसायिक उत्पादनका लागि कृषकहरू उत्साहित भएका छन् । यसरी कागतीकै माध्यमबाट कागती वडाका रूपमा समेत विकास गर्ने योजना अघि सारिएको छ ।
फलफूलका बिरुवा प्रत्येक घरले अनिवार्य रूपमा लगाउनैपर्ने भनिएको छ । तरकारी तथा फलफूलका लागि आवश्यक जमिन नभएका स्थानीयका लागि वडाले जग्गा भाडामा मिलाइदिने व्यवस्था गर्ने भन्दै अध्यक्ष पंगेनीले भने,
‘वडावासी कोहीले पनि गरिखाने जग्गा भएन भन्ने सूचना वडा कार्यालयमा आउनासाथ तत्काल जमिनको व्यवस्था हामी गर्नेछौं ।’ वितरित बिरुवाको संरक्षण तथा गोडमेलका सम्बन्धमा वडाले अनुगमन गर्ने समेत दाबी अध्यक्ष पंगेनीको छ ।
आगामी १ साउनदेखि नै हरेक घरमा दैनिकी कापी हुने र त्यसमा प्रत्येकले के कति निर्यात गरे भन्ने विषयमा समेत अपडेट गर्नुपर्ने व्यवस्था मिलाइने पंगेनीले बताए । यो आर्थिका वर्ष सकिनै लाग्दा गल्याङ्–१० ले चारवटा योजना अघि बढाइसकेको छ ।
टोल विकास संस्थामार्फत सरसफाइ, एक घर एक बैंक खाता, वडालाई ग्रिन वडा बनाउने जस्ता अभियानसँगै फलफूलमा आत्मनिर्भर बनाउनेलगायतका योजना अघि बढाएको छ । ग्रामीण क्षेत्रमा रहेको वडालाई साच्चिकै अर्को आर्थिक वर्षमा नमुना वडा बन्ने अपेक्षा सरोकारवालाले लिएका छन् ।