चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले आठ निजी क्याम्पसलाई विश्वविद्यालयले दिएको सम्वन्धन खारेज गर्न माग गरेका हुन्।
विश्वविद्यालय सभाले १० आंगिक कलेजको स्थापना गर्ने निर्णय पारित गरेपनि हालसम्म जम्मा चार वटामात्र आंगिक कलेज स्थापना भएको अवस्थामा विश्वविद्यालय स्थापनाको उद्देश्यको मर्मविपरित निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको भन्दै सम्बन्धन खारेजीको माग गरिएको प्रतिनिधिमण्डलका सदस्य होमनाथ गिरीले जानकारी दिए।
त्रिविलगायत अरु विश्वविद्यालयले समेत कृषि विज्ञान विषयमा निजी सम्बन्धनको प्रक्रिया अगाडि बढाएको हुँदा देशमा कृषि जनशक्तिको गुणस्तर ह्रास एवं माग र आपूर्तिमा असन्तुलन हुने भएकाले कृषि जनशक्तिको मागको प्रक्षेपण नगरी सम्पूर्ण विश्वविश्द्यालयको सम्बन्धनको प्रक्रिया रोक्न उनीहरुले माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विश्वविद्यालयको सम्बन्धनका सम्बन्धमा देखिएको समस्या राष्ट्रिय नीति बनाएर समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।









