बागलुङ। बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन्।

वर्षेनि खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन्।

खोटोबाट ९९ हजार ८३४ राजश्व र स्थानीय कर ३२ हजार ८३५ संकलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो संकलनतर्फ आकर्षित भएका हुन्।

सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज र रंग बनाउन प्रयोग हुन्छ। जिल्ला वन कार्यालयका अनुसार कपिलवस्तु रोजिन उद्योग र रुपन्देहीको माउण्ट रोजिन एण्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिले यहाँ संकलित खोटो खरिद गर्ने गरेका छन्।

उपभोक्तालाई खोटो संकलनका लागि आवश्यक पर्ने सीप र प्रविधि उद्योगले नै प्रदान गर्छन् । पच्चीस वटा रुखबाट १० केजीजति खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत रामबहादुर विक बताउँछन्।

बुर्तिबाङको माडे सामुदायिक वनबाट सबैभन्दा बढी खोटो संकलन हुने गरेको उनको भनाइ छ । खरिदकर्ताले प्रतिकेजी १२ रुपैयाँका दरले खोटो खरिद गर्ने गरेका छन्।

खोटो बेचेर समूहमा आउने आम्दानी उपभोक्ताले आयआर्जनमा लगाउने गरेका छन् । आयआर्जनमार्फत समूहका सदस्यको जीवनस्तर सुधारमा मद्दत पुगेको सामुदायिक वन उपभोक्ता महासंघको ठहर छ।

खोटो संकलन र निर्यातलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने महासंघको जिल्ला अध्यक्ष प्रेम लामिछाने बताउँछन्। बजार प्रवद्र्धनसँगै आर्थिक तथा प्राविधिक सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ छ।

‘वनमा त्यसै खेर गइरहेको खोटो संकलनबाट लाखौँ रुपैयाँ समूहमा भित्रिएको छ’, ‘यसलाई अझै व्यावसायिक बनाउन आवश्यक छ।’ वनको स्रोत उपयोग गरेर उद्यम सञ्चालन गर्ने उपभोक्तालाई महासंघले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। जिल्लाका अन्य क्षेत्रमा पनि सल्लो प्रजातिको वन क्षेत्र पर्याप्त भएको हुँदा खोटोको राम्रो सम्भावना छ।