
लहान। सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ ।
चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ ।
बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएका छन । बजारमा पाइने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलकै भरमा खेती गर्दै आएकी ३२ वर्षीया चौधरी अहिले आफैंलेले जैविक मल तयार गरिरहेका छन ।
व्यावसायिक रुपमा कृषि पेशा गर्दै आउनुभएकी चौधरी अब रासायनिक मलको साटो आफैंले बनाएको जैविक मल प्रयोग गरी खेती गरिरहेक छन । उनले केही वर्ष अघिसम्म उत्पादन बढाउन अत्यधिक रासायनिक मलको प्रयोग गर्दै आएका थिए ।
‘रासायनिक मलको बेफाइदा र जैविक मलको फाइदाबारे बुझेपछि जैविक मल बनाउन थालेकी हुँ,’ उनले भने । थोरै लगानी र मिहिनेतमा आफ्नै घरमा जैविक मल बनाउन सकिने भएपछि उनी उत्साहित भएका हुन । जैविक मल बनाएर विषादीमुक्त खेती गर्न थालेपछि अहिले उनको प्रशंसा गाउँभरि हुन थालेको छ ।
दुर्गा महिला समूह कुशहाकी अध्यक्षसमेत रहेकी चौधरीले कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले सञ्चालन गरेको ग्रामीण महिलाका लागि सामाजिक, आर्थिक, सशक्तीकरण कार्यक्रमअन्तर्गत जैविक मल बनाउने तालीम लिएर घरमै जैविक मल बनाउन थालेका छन ।
त्स्तै, सुरुङ्गा नगरपालिका–७ बसनपट्टीकी गुलाबदेवी रामले घरमै झारपातबाट जैविक मल बनाउँदै आएका छन । रासायनिक मललाई निरुत्साहित गरी खेतीपातीमा जैविक मलको प्रयोग बढाउन गाउँमै उनले जैविक मल बनाउन थालेका हुन । ‘कृषि क्रान्तिमा टेवा पु¥याउने सोच पलाएपछि जैविक मल बनाएर विषादीरहित खेतीतर्फ आकर्षित भएकी हुँ’ रामले भने ।
रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा मात्र असर पार्ने होइन माटो र खेतको उर्वरा शक्तिमा समेत ह्रास आउने गरेको छ । आगामी वर्षबाट बढी मात्रामा मल उत्पादन गरी बिक्री गरेर आम्दानी गर्ने उनको योजना छ ।
रासायनिक मलभन्दा जैविक मलको प्रयोगबाट पर्याप्त उत्पादन हुने बुझेपछि चौधरी र रामले मात्रै होइन, सुरुङगा नगरपालिकामा गठन भएका पाँचवटा महिला समूहका अधिकांश महिला सामूहिक रुपमा जैविक मल बनाउन जुटेका छन् ।
व्यावसायिक रुपमै जैविक मल बनाउन शुरु गरेकी बलान महिला समूह कुशहाकी मञ्जु चौधरी भन्छन, ‘पहिला धान, गँहु र अन्य तरकारी खेती गर्दा रासायनिक मल ९युरिया, डिएपी मलकै प्रयोग हुने गर्दथ्यो, अब आफैँले तयार पारेको जैविक मल प्रयोग गर्न थालेका छौँ ।’
महिलाकै सक्रियामा विषादीरहित खेतीको अभियान शुरु भएपछि गाउँका पुरुष पनि उत्साहित भएर आफूहरुको अभियानमा साथ दिन थालेको चौधरी बताउछन ।
महिला समूह बनाएपछि त्यही मार्फत समूहमै श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जैविक मल बनाउन तालीम प्रदान गरेको हो । सहुलियत दरमा मल बनाउन प्रयोग हुने कृषि चुना उपलब्ध भएपछि उनीहरुले सामूहिक रुपमा जैविक मल बनाउन थालेका छन् ।
विषादीरहित खेती गर्ने उद्देश्यले जैविक मल बनाउन थालेका सुरुङ्गा नगरपालिकाको विभिन्न वडाका महिला समूहका १०० भन्दा बढी महिलालाई केही दिनअघि जैविक मल उत्पादनबारे जानकारी गराइएको थियो ।