
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ ।
चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक बिएस सिएजी र एउटालाई वन स्नातक बिएससी फरेस्टी पढाउनका लागि अनुमति दिइएको बताए ।
उनका अनुसार कृषि स्नातकमा सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन् ।
त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटले सम्बन्धन पाएको छ ।
ढकालका अनुसार सबै कलेजले ५०–५० विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चार आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ ।
आउँदो शैक्षिकसत्रसम्म थप चार आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताए ।
विश्वविद्यालयले सिनेटमा निर्णय गरी १० आंगिक क्याम्पस खोल्न गत वर्ष विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेकामा आयोगले सात आंगिक क्याम्पस स्थापनाका लागि अनुमति दिएको थियो ।