काठमाडौँ । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन पनि नगन्य मूल्यमा विदेशमा जाने गरिएको सो महासंघले जनाएको छ ।
यस सम्बन्धमा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली उद्यमीले न्यून पूँजीबाट वस्तु उत्पादन गर्ने तथा पुरानो प्रविधिका र ठूलो संख्यामा वस्तु उत्पादन नहुने कारण नेपाली ग्राहकको आकर्षणमा कमी तथा वस्तु उत्पादनमा लागत बढी लाग्ने गरेको बताए ।
सुन्तला तथा जुनारको जुस उत्पादन भए पनि प्याकेजिंग तथा लेभलिंग हुँदैन । त्यस्तै तराईमा चुरा बनाउने उद्योग, शृंगारका सामान, ढाका टोपी, पाउरोटी, दूध, कपडा, हाते कागज, जुत्ता, कागजका सामान, हस्तकला तथा मूर्तिकलाजस्ता घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको र ती वस्तु अमेरिका, चीन, जापान, भारत, बंगलादेश, पाकिस्तानसहित थुप्रै मुलुकमा निर्यात हुने र त्यसबाट सरकारलाई कूल राजस्वको ५० प्रतिशत कर बुझाउने गरिएको जानकारी उनले दिए ।
महासंघले दिएको जानकारीअनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत औद्योगिक क्षेत्रको योगदान रहेको छ । त्यस्तै कूल राष्ट्रिय निर्यातको ७० प्रतिशत योगदान रहेको छ ।
अध्यक्ष सिंहले सानो स्केलमा सञ्चालन हुने लघु तथा घरेलु उद्योगबाट हरेक परिवारलाई पाँचदेखि १० जना सदस्यलाई रोजगारी दिने तथा विदेश पलायन हुने युवा शक्तिलाई रोकेको बताए ।
देशका ७७ जिल्लामा छरिएर रहेका महासंघसँग दुई लाख ९० हजार घरेलु तथा लघु उद्यमी आबद्ध छन् भने महिलाको सहभागिता बढाउन ५८ जिल्लामा महासंघको केन्द्रीय महिला उद्यमी कमिटीको सञ्जाल रहेको छ ।