
विराटनगर। विराटनगर महानगरपालिकाभित्रका साप्ताहिक हाटबजार साउन महिनादेखि बन्द गर्ने महानगरपालिकाले तयारी गरेको छ ।
महानगरपालिका भित्रका फुटपाथ र हाटबजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर आयोजित कार्यक्रममा बोल्दै विराटनगरको सौन्दर्यता कायम राख्न अब महानगरपालिकाले हाटबजारलाई बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताउनुभयो ।
दाहालले यही आर्थिक वर्षदेखि हाटबजार कर शिर्षक पनि हटाएको बताउदै अटेर गरेर फुटपाथ र हाटबजार लगाउनेलाई बल प्रयोग गरेर भए पनि हटाउने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो–‘साप्ताहिक रुपमा लाग्ने हाटबजारबाट धेरै फोहोर भइरहेको छ, त्यसैले व्यवस्थित शहरका लागि हाटबजार हटाउन जरुरी छ ।
हाटबजारका लागि निश्चित एरिया व्यवस्थापन गर्ने नगरले तयारी पनि गरेको छ । नगर प्रमुख पराजुलीले सबैलाई सहज हुने गरी चाँडै हाटबजारका लागि ठाँउको निर्धारण गरिने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, टोल संगठन नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के, वेस्ट मेनेजमेन्ट ग्रुप प्रालिका संयोजक देवी प्रसाद आचार्यले फुटपाथले आवागमनमा समस्या रहेको र बाटोमा हाटबजार लगाउनाले दुर्घटना बढ्ने सम्भावना रहेको तथा हाटबजारबाट निस्केको फोहरले बजार नै फोहर देखिएको बताउनु भएको थियो ।
विराटनगरमा लामो समयदेखि स्थानीय गुद्रीमा तरकारी तथा फफुलको बिक्री हुँदै आएको छ। मुख्य भागमा तरकारीको खरिदबिक्री हुँदा फोहोर मैला बढने गरेको छ ।
विराटनगरको तरकारीको बजार व्यवस्थापनका लागि भने महानगर नजिकै कटहरी गाउ“पालिकाकामा १३ करोडको लगानीमा तरकारी बजार बनिरहेको छ । त्यो साउनदेखि सन्चालनमा ल्याउने महानगरको तयारी छ ।