
ललितपुर। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।
विशेषगरी वैदेशिक रोजगारीमा कार्यरत कामदारको परिवारलाई आर्थिक रूपले सम्पन्न बनाउने उद्देश्यले निष्कासन गरिएको यस वैदेशिक रोजगार बचतपत्रको ब्याज हरेक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी यस बचतपत्रको समयावधि पाँचवर्षे रहेको छ । घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजारले भाग गर्दा निःशेष भाग जानेगरीको रकम बचत गर्न सकिनेछ । जसअनुसार वैदेशिक रोजगारीमा रहेका कामदारले प्रतिव्यक्ति न्यूनतम ५ हजार रुपैयाँदेखि बढीमा २५ करोड रुपैयाँसम्मको बचतपत्र खरिद गर्न सक्नेछन् ।
यसरी खरिद गर्ने २५ करोड रुपैयाँको बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
गत १ असारदेखि खुला भएको सो बचतपत्र आगामी २१ असारसम्म खरिद गर्न सकिनेछ ।
यस्तो बचतपत्रको ब्याज आफूलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयबाट पनि प्राप्त गर्न सकिनेछ ।
यसअघि धेरैपटक निष्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा विदेशमा रहेका नेपालीको त्यति आकर्षण नदेखिएकाले राष्ट्र बैंकले पुनः २१ दिनका लागि खुलाएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले यसपालि भने राष्ट्र बैंकले बचतपत्र निष्कासन एवं खरिद कार्यबारेमा विभिन्न प्रचारप्रसारका कार्यक्रम गरेर जारी गरिएकाले लक्षित वर्गले अपेक्षा गरेअनुसार खरिद गर्ने बताए । उनले विगतमा निष्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा त्यति आकर्षण भेटिएको थिएन, यसपालि धेरै प्रचारप्रसार गरेर निकालिएको हुनाले बिक्री हुनेमा आफूहरू पूर्ण विश्वस्थ रहेको बताए ।
राष्ट्र बैंकका अनुसार यो बचतपत्र खरिद गर्नका लागि विदेशमा हुने नेपाली नागरिकले आफूसँग भएको राहदानी, त्यहाँ कार्यरत रोजगारदाता मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्रको प्रतिलिपि र दुईप्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्ने हुन्छ । यसैगरी, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पनि पेस गर्नुपर्छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका कामदारको परिवारका सदस्यको नाममा बचतपत्र खरिद गर्ने भए सम्बन्धित सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात आवश्यक पर्छ । यसैगरी, नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र, प्रमाणित कागजात आवश्यक पर्छ ।
के हो बचतपत्र ?
राष्ट्र बैंकले ल्याएको यो बचतपत्र लगानी नै हो । निश्चित समयसम्मको बचतपत्रलाई खरिद गर्न सकिन्छ । यसलाई अचल सम्पत्तिका रूपमा पनि लिन सकिन्छ ।
हामीले अन्य संघसंस्थामा दैनिक मासिक रूपमा पैसा बचत गरेजस्तै बचतपत्रमा निश्चित अवधिका लागि नागरिकले बैंकलाई पैसा तिरेर बचतपत्र किन्नुपर्ने हुन्छ ।
त्यसरी तिरेर किनेको बचतपत्रको बैंकले निर्धारित समयमा खरिदकर्तालाई सावाँ ब्याज भुक्तानी गर्ने गर्छ । अहिले बचतपत्र खरिदकर्ताले वार्षिक १० प्रतिशतका दरले ब्याज भुक्तानी पाउनेछन् ।