काठमाडौं। नेपालको कुल खेतीयोग्य जमिनमध्ये ७९ दशमलव ३ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेको देखिएको छ ।

राष्ट्र बैंकले गरेको प्रदेशगत अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनमा ५७ जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ३२ लाख १४ हजार हेक्टर रहेको उल्लेख छ । यसमध्ये ७९ दशमलव ३ प्रतिशत जमिनमा खेती गरिएको छ ।

उक्त खेती गरिएको जमिनको केवल ४५ दशमलव २ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा खेती गरिएको जमिनको केवल २२ दशमलव ९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ भने प्रदेश २ मा सबैभन्दा बढी ६६ दशमलव ३ प्रतिशत खेती गरिएको जमिनमा सिँचाइ सुविधा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल प्रदेश २ मा सबैभन्दा बढी ८९ दशमलव ९ प्रतिशत र प्रदेश ३ मा सबैभन्दा कम ७३ प्रतिशत रहेको देखिएको छ ।