
झापा। दूध बिक्न छाडेपछि झापा गाउँपालिकास्थित शरणामतीका सयौँ किसान समस्यामा परेका छन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका उनीहरु दूधले बजार नपाएपछि निराश बनेका हुन् ।
झापामा परिचित नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित एनएमसी डेरी उद्योगले यहाँका किसानद्वारा उत्पादित दूध खरिद गर्दै आएको थियो ।
दूध उत्पादन गर्न भन्दै गाई–भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरी उद्योगले दूध खरिद गर्न छाडेपछि किसानले सडकमै दूध पोखेका छन् ।
‘सहकारीले ऋण दिएर गाई किनायो, गोठ बनाउन लगायो, घाँसको बीउ किन्न लगायो, हामीले एक–एक बिघा घाँस छ¥यौँ,’ किसानहरु भन्छन्, ‘अहिले दूध नै बिक्दैन, अब गाई धेरै भए, के गर्नु हामी रु’ शरणामतीका ओमप्रकाश अधिकारीको घरमा दुईजनाको मात्र परिवार छ । ७ वटा गाई छन् । २० लिटर दूध उत्पादन हुन्छ । तर, केहीदिनयता दूध बिक्न छाडेपछि उनी चिन्तित छन् ।
‘सपना बाँड्यो, तर दूध किनेन’ :
उनीहरुका अनुसार नेपाल बहुद्देश्यीय सहकारीले किसानलाई गतिलै सपना बाँढेको थियो । ‘केही वर्षमै टाई लगाएर हिँड्ने बनाउँछौँ भन्नेहरुले अहिले दूध नै किन्न छाडे,’ किसानहरुको गुनासो छ । यहाँका अधिकांश किसानले सोही सहकारीबाट ऋण लिएर घरमा गाई पालेका छन् । १४ जना किसानले त गाई फारम नै सञ्चालन गर्दै आएका छन् ।
उत्पादन भएजति सबै दूध खरिद गर्ने बाचा गरेको एनएमसी डेरी उद्योगले पछिल्ला केही दिनमा २५ प्रतिशत कटाएर दूध खरिद गरेको किसान मोहन भट्टराईले बताए । तर, दुई महिनादेखि कहिले दूध खरिद गर्दै कहिले बन्द गर्दै आएको उनको गुनासो छ । उनले ‘भट्टराई गाई फारम’ सञ्चालन गरी १५ वटा गाई पालेका छन् । आक्रोशित बनेका किसानले शरणामतीस्थित एनएमसी दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि शनिबार सडकमा सयौँ लिटर दूध पोखेका हुन् ।
‘दूध बेचेर किसानले महिनाको ४० हजार रुपैयाँसम्म आम्दानी गर्थे, अहिले त दुई दिन दूध किन्दै, पाँच दिन नकिन्दै गर्न थाल्यो,’ भट्टराईले भने, ‘मैले नै महिनाको ७०र८० हजार रुपैयाँको दूध बेचेको छु ।’ अहिले दैनिक ४० लिटर दूध उत्पादन गर्दै आएका भट्टराई दूध कसलाई दिने भन्ने चिन्तामा छन् ।
किसानहरुका अनुसार एनएमसी डेरीले १२ देखि १६ जेठसम्म दूध खरिद गरेन । त्यसपछि २१ जेठदेखि ४ दिनसम्म खरिद गरेन । अहिले फेरि १ देखि ३ असारसम्मका लागि दूध खरिद बन्द गरेको उनीहरुले सुनाए ।
‘हामी मारमा प¥यौँ, दूध नै नबिकेपछि गाई नै बेच्नुपर्ने बाध्यता छ । तर, दूध नबिक्दा गाईको मूल्य पनि घट्यो,’ शरणामतीकी लीलादेबी बानियाँले भनिन्, ‘जति पनि दूध किन्छौँ भनेका कारण २ लाख रुपैयाँ ऋण लिएर गाई किनेँ, कहिले किन्दै, कहिले बन्द गर्दै गरेपछि हामी त डुब्यौँ नि ।’ ४ वटा गाई–भैँसी पाल्दै आएकी उनले २ वटा त बेचिसकिन् ।
‘जति पनि किन्छौँ भने, पछि पक्की ग्वाली बनाउन लगाए, गाई थप्नु भन्दै ऋण पनि दिए, २०–३० लिटर दूध उत्पादन हुने गरी गाई किनेँ,’ चन्द्रबहादुर कार्कीले भने, ‘उठ् भन्दा उठ्, बस् भन्दा बस् बनायो हामीलाई एनएमसीले ।’
एनएमसीले किसानबाट दूध खरिद गर्न थालेको दुई वर्ष भइसक्यो । तर, अहिले आएर दूध खरिदमा आनाकानी गरेपछि आफूहरु घाटामा जान थालेको किसान प्रकाश थापाले बताए । उनीहरुका अनुसार सहकारीले ५ हजार रुपैयाँ शेयर र ६६ महिने खाता खोलेपछि मात्र किसानबाट दूध खरिद गर्न थालेको थियो ।
स्रोत :नयाँ पत्रिका