काठमाडौं। उपत्यकाभित्र उपभोग हुने गरेको अधिकांश दूधमा मिसावट रहेको पाइएको छ । सरकारी अनुगमनको क्रममा उपत्यकाभित्र उपभोग हुँदै आएको दूधमध्ये ९५ प्रतिशतमा मिसावट भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा उपभोग हुँदै आएको दूधको कुल ४२ वटा नमुना परीक्षण गरेको र त्यसमा ४० वटा नमुनामा कैफियत रहेको पाइएको हो । यो कुल नमुनाको ९५ दशमलव २४ प्रतिशत हो ।

कुल ४२ नमुनामध्ये ४० वटा नमुनामा साबुनमा प्रयोग गरिने सोडा प्रयोग गर्ने गरेको पाइएको हो । दूध उद्योगीहरूले गर्मीयाममा दूध फाट्नबाट जोगाउनका लागि सोडा प्रयोग गर्ने गरेको भए पनि त्यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘४० वटा नमुनामा सोडाको प्रयोग गरेको पाइयो’ उनले बुधबार राजधानी दैनिकसँग भने, ‘सोडाको प्रयोगबाट दूध पाचन प्रणालीमा समस्या हुन्छ ।’

विभागका अनुसार कुल ४२ नमुनामध्ये १७ वटा नमुनामा चिल्लो पदार्थको मात्रा न्यून रहेको पाइएको छ । मापदण्डअनुसार दूधमा चिल्लो पदार्थको मात्रा ३ देखि ८ प्रतिशतसम्म हुनु पर्दछ । कम चिल्लो रुचाउनेका लागि कम्तीमा ३ प्रतिशत चिल्लो पदार्थ र बढी चिल्लो उपभोग गर्नेका लागि ८ प्रतिशत चिल्लोको मात्रा हुनु स्वास्थ्यका लागि अनुकूल मानिन्छ ।

त्यस्तै, नौवटा नमुनामा मापदण्डभन्दा बढी मात्रामा चिल्लो पदार्थ रहेको पाइएको छ । ती नौवटामा चिल्लो पदार्थको मात्रा मापदण्डभन्दा बढिरहेको र दूधमा हुनुपर्ने अन्य ठोस पदार्थको मात्रा मापदण्डभन्दा न्यून रहेको पाइएको हो ।

त्यस्तै, नौवटा दूधका नमुनामा नुनको समेत प्रयोग गरेको निस्केको छ । दूधलाई बाक्लो बनाउनका लागि उद्योगीले नुनको प्रयोग गरेको हुन सक्ने विभागका अधिकारीहरूको भनाइ छ । कैफियत भेटिएका दुग्ध उद्योगलाई खाद्य ऐन, २०२३ अनुसार कारबाही गरिने विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता वस्तीले भने, ‘कैफियत भेटिएका उद्योगलाई खाद्य ऐन, २०२३ अनुसार कारबाही प्रक्रियाअघि बढाउनेछौं ।’

त्यस्तै, दूधमा कोलिफर्मलगायतका अन्य सूक्ष्मजीवहरू रहेको वा नरहेको पुष्टि हुनका लागि समय लाग्ने भएकाले रिपोर्ट नआएको विभागका प्रवक्ता वस्तीले बताए । ‘सूक्ष्म जीवाणु रहेको वा नरेहेको पुष्टि गर्नका लागि ७२ घण्टासम्म प्रयोगशालामा राख्नुपर्छ,’ उनले भने, ‘७२ घण्टासम्म प्रयोगशालामा राख्नुपर्ने भएकाले दूधमा अन्य कैफियत रहेको वा नरहेको पुष्टि हुनका लागि केही ढिलाइ हुनु स्वाभाविकै हो ।’

यसअघि गत सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको नेतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न डेरी उद्योगहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा टोलीले शंकास्पद दूधको नमुना संकलन गरेर ल्याएको थियो ।

मन्त्रालयको टोलीले लगनखेलको हिमालय डेरी प्रोडक्ट, काठमाडौंको जयश्री कृष्ण डेरी, भक्तपुरको भक्तपुर डेरी, अनमोल डेरी जगदम्बा डेरीलगायतका उद्योगहरूले कारोबार गर्ने दूधको नमुना संकलन गरेर ल्याएको थियो । त्यस्तै, गोधुली दूध वेभरेज, नोभा कन्ट्री फुड, शिवम डेरी, तुलसा डेरी र सुलभ डेरीका गरी ४२ वटा नमुना संकलन गरेर ल्याएको थियो ।