फुङ्लिङ। ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता दिईने भएको छ । जिल्लाको सिदिङवा गाउँपालिकामा सुत्केरी गाईलाई भत्ता दिईने व्यावस्था गरिएको गाँउपालिका अध्यक्ष नरबहादुर कडरियाले बताएका छन् ।

सिदिङवा गाँउपालिका साविक कालीखोला, सादेवा, सुरुमखिम, मेहेले, आङखोप, लिम्वुदिन र साब्लाखु गाविस मिलाएर बनाईएको हो । यो गाँपाललिकालाई दुधमा आत्मानिर्भर बनाउने उदेश्यले यस्तो ब्यबस्था गरिएको अध्यक्ष कडरियाको भनाइ छ ।

यसअन्तर्गत गाई सुत्केरी हुँदा गाई पाल्ने किसानलाई २० हजार रुपैयाँ दिइनेछ, किसानले यो पैसा गाईको स्याहार सुसारमा खर्च गर्नु पर्नेछ कडरियाले भने ।

तर भत्ता लिने किसानले दिनमा कम्तीमा ७ लिटर दूध भने दुहुनुपर्ने सर्त राखिएको छ। सर्तअनुसार सुत्केरी भएको छ महिनासम्म लैनुमा दुई र छ महिनापछि तीन थुन मात्रै दुहुन पाउने छन्।

यस क्षेत्र बिगतबाटनै गाईपालनको ख्याति प्राप्त रुपमा परिचित हो । यो ठाँउ पाँचथरको बिभिन्न गाँउपालिका सम्मको बजारसँग प्रत्यक्ष रुपमा गाँसिको र कृषि क्षेत्रमा समेत उपयुक्त स्थान हो ।