लमजुङ । अलैंची नर्सरी बिरुवा रोप्ने सिजन सुरु भएपछि लमजुङमा बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखा, अलैंची नर्सरी धनी, अलैंची कृषकहरू, अलैंची व्यवसायीहरूबीच बसेको बैठकले अलैंची नर्सरी बिरुवाको मूल्य निर्धारण गरेको हो ।

यस वर्ष सबै जातका अलैंची नर्सरी बिरुवाको मूल्यबराबर गरेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ, शाखाका अध्यक्ष अजय तामाङले बताए । सो बैठकले यस वर्ष अलैंचीको प्रतिबिरुवा बुढो गाँजको ९पानाबाट छुट्याएको० लाई ५ देखि र ३२ महिनाको अलैंची बिरुवालाई ८ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । गत वर्ष अलैंचीको गुणस्तर र जातका आधारमा मूल्य छुट्याइएको थियो ।

जिल्लामा गत वर्ष ६० लाखभन्दा बढी अलैंची नर्सरी बिरुवा उत्पादन भएको थियो । कृषकले बिरुवा बिक्रीबाट करिब २ करोड आम्दानी गरेका थिए । यस वर्ष उत्पादनमा कमी आएको छ ।

यस वर्ष २० लाख अलैंची नर्सरी बिरुवा उत्पादन भएको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।

जिल्लामा उत्पादन भएको अलैंचीको बिरुवा जिल्ला बाहिरबाट समेत उच्च माग रहने गरेको छ । जिल्लामा रामसाई, गोलसाई, साउन्ने, जिङमले, डम्बरसाई प्रजातिका अलैंची नर्सरी बिरुवा उत्पादन गरिएको छ ।

हाल जिल्लाको अधिकांश ठाउँमा अलैंची खेती गरिँदै आएको छ । गत वर्षको तुलनामा यस वर्ष निकै कम आम्दानी हुने भएको छ । लमजुङमा ९ सय ८६ हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती गरिँदै आएको छ ।

जिल्लामा रामसाई, गोलसाई, साउन्ने, जिङमले, डम्बरसाई प्रजातिका अलैंची बिरुवा लगाइएको थियो । जिल्लामा करिब ३५ हजार अलैंची कृषकहरू रहेको बताइएको छ ।