ललितपुर। ताजा हरियो तरकारीको माग मात्र होइन, मूल्य पनि बढी हुन्छ । जति महँगो परे पनि ताजा नै किन्ने र तत्काल पकाइहाल्ने आम उपभोक्ताको बानी छ । तर, त्यस्ता ताजा र चिल्लो देखिएका तरकारीमा विषादीको मात्रा उच्च हुने विज्ञहरू बताउँछन् ।

उच्च विषादीयुक्त तरकारी तत्काल पकाएर खाँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा दीर्घकालमा क्यान्सरसमेत निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

‘बजारबाट किनिने हरियो तरकारी जतिसक्दो बासी बनाएर मात्र पकाऔँ । बासी बनाउँदा तरकारीमा प्रयोग भएको विषादी उडेर जान्छ,’ बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइ कालिमाटीका प्रमुख मानबहादुर क्षेत्रीले भन्नुभयो। तर, आफैँले फलाएको र विषादी प्रयोग नगरिएको भए ताजै तरकारी उपयुक्त हुने उहाँले बताउनुभयो ।

बजारबाट किनेको तरकारी केही समय पानीमा डुबाएर राख्ने र घाममा सुकाउनाले पनि विषादीको मात्रा कम हुने उहाँको भनाइ छ । ‘तरकारी ताजै बसोस् भनेर फ्रिजमा राख्ने चलन छ । तर, फ्रिजमा राखिएको तरकारीमा प्रयोग भएको विष कम हुँदैन,’ केसीले भने, ‘मिल्छ भने बरू केही समय घाममा सुकाउँदा विष कम हुन्छ ।’

घाममा सुकाउन नमिल्ने सागलगायत तरकारीलाई भने केही समय पानीमा डुबाउने र तीन–चारपटक पखालेर मात्र पकाउँदा असर नगर्ने उहाँले बताउनुभयो । वर्षातको समय तरकारीमा किरा बढी लाग्ने हुँदा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्ने उहाँको भनाइ छ ।

तरकारीमा विषादीको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर समस्या पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा ल्याब म्यानेजर कृष्ण राईले बताउनुभयो । ‘विषादीको होल्डिङ पिरियड हुन्छ,’ उनले भने, ‘एक–दुई दिनपछि पकाउँदा विष कम हुन्छ ।’ उहाँका अनुसार किसानलाई विषादी प्रयोगबारे पर्याप्त ज्ञान नहुँदा पनि समस्या बढेको छ । ‘उनीहरूले आफ्नो मात्र फाइदा हेर्छन् । अघिल्लो दिन बेलुका विषादी हालेर भोलिपल्टै तरकारी बजार लाने समस्या पनि छ,’ राईले भन्नुभयो।

चिल्ला र ताजा तरकारीमा भन्दा फुस्रा, किरा लागेका र बासी तरकारीमा विषादी कम हुने खाद्य प्रविधिविज्ञ जीवनप्रभा लामा बताउँउनुहुन्छ । बजारमा बेचिने सबै तरकारीको परीक्षण सम्भव नभएकाले तरकारी किन्दा चिल्ला र ताजाभन्दा फुस्रा, ओइलिएका तरकारी किन्दा स्वास्थ्यको दृष्टिकोणले उचित हुने खाद्य विज्ञहरूको भनाइ छ ।

व्यावसायिक तरकारी किसानले तरकारी तथा फलफूलमा लाग्ने किरा मार्न मात्र होइन बढी उत्पादन र चिल्लो र ताजा देखाउनसमेत विषादी र रसायनको प्रयोग गर्ने गर्छन् । ‘किसानको बारीबाट उपभोक्ताको चुलोसम्म पुग्न दुईदेखि तीन दिन लाग्छ । त्यतिबेलासम्म चिल्ला र ताजै हुनु भनेको तरकारीमा विषादीबाहेक चम्काउन प्रयोग गरिने रसायनको पनि प्रयोग भएको हुन सक्छ,’ ‘त्यस्तो रसायनले जनस्वास्थयमा प्रतिकूल असर गर्छ ।’

हरियो तरकारी, फलफूल तथा सलाद ताजै रहोस् भनेर फ्रिजमा राख्ने प्रचलन बढ्दो छ । तर, त्यसरी फ्रिजमा राख्दा ब्याक्टेरिया नियन्त्रण गर्न सकिने भए पनि विषादी जस्ताको त्यस्तै बस्ने बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कालिमाटीका मानबहादुर क्षेत्रीले बताउनुभयो ।

तरकारीलाई फ्रिजमा नराखी घाममा सुकाउँदा विषादी छिटै उड्ने उहाँको भनाइ छ । तर, घाममा सुकाउन नमिल्ने सागलगायत तरकारीलाई भने नुनपानीमा कम्तीमा आधा घन्टा डुबाउँदा विषादीको असर कम हुने उहाँले बताउनुभयो ।