
ललितपुर। १८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । दुग्ध क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘पालौं पशु कमाऔं धन, शुद्ध दूध स्वस्थ जीवन’ भन्ने नाराका साथ दिवस मनाईएको हो।
नेपालमा भने यो दिवस मनाउन थालिएको आठौं वर्ष हो । संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन एफएओको संयोजकत्वमा विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसका रुपमा सन् २००१ देखि मनाइँदै आइएको छ ।
एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ । गत वर्ष मुलुकभर १९ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ ।
नेपालमा उत्पादन हुने दूधको १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट दुग्ध सहकारी र उद्योगमार्फत कारोबार हुँदै आएको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा उपभोक्तासम्म जाने गरको छ । ५० प्रतिशत दूध कृषक आफैंले उपभोग गर्ने गरेको तथ्यांक छ ।