काठमाडौं। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताइरहँदा दैनिक उपभोग्य वस्तुको भाउ बढ्ने भएको छ । आर्थिक वर्ष ०७५/६५को बजेटमा खाद्य वस्तुको आयातमा लाग्ने करको दायरा बढाए पछि व्यापारीले दाल, चामल र खाने तेलको भाउ बढाउने तयारी गरेका छन्।

मुलुक खाद्य वस्तुमा आत्मनिर्भर नभएको अवस्थामा सरकारले ल्याएको बजेटमा तोरी, दाल तथा गेडागुडीमा लगाउँदै आएको भन्सार महसुल बढाएपछि मूल्य बढाउन बाध्य हुने जनाएका छन् । तोरी तेलमा दिँदै आएको ४० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सुविधा हटाएको छ भने तोरीको गेडा आयातमा लिँदै आएको एक प्रतिशत भन्सार महसुल वृद्धि गरेर पाँच प्रतिशत पु¥याइएको छ । यसले तोरी तेलमा प्रति लिटर १५ रुपैयाँ मूल्य बढ्ने व्यापारीले जनाएका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिना (चैतसम्म) ११ अर्ब ५१ करोड रुपैयाँको तेल आयात भएको थियो।

तोरीमा भारत आत्मनिर्भर छ, भारतमा तोरी तेल र सबै तेलमा ५ प्रतिशत जिएसटी भएको हुँदा अनधिकृत रुपमा तोरी तेल भित्रिने सम्भावना अत्यन्त ज्यादा रहेको नेपाल चामल तेल दाल उद्योग संघका महासचिव सुबोध कुमार गुप्ताले बताए । ‘राजस्व गुम्ने सम्भावना पनि छ,’ महासचिव गुप्ताले भने । तोरीको तेल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात हुँदै आएको छ।

त्यसैगरी अप्रशोधित दाल तथा गेडागुडीमा लिँदै आएको भन्सार महसुल पाँच प्रतिशतबाट बढाएर १० प्रतिशतमा पुर्याइएको छ ।

प्रशोधित दालमा भन्सार महसुल १० प्रतिशतनै कायम गरेकाले त्यसको असर स्वदेशी उद्योगलाई पर्ने व्यवसायीको जिकिर छ ।तयारी दाल र कच्चा पदार्थमा समान दर भएकाले तयारी दाल आयात गर्ने परम्परा वृद्धि भई आयातले प्रोत्साहन नेपाल चामल तेल दाल उद्योग संघले जनाएको छ।

‘दुई तहको करको दर हुनु पर्नेमा समान भन्सार दर लगाउँदा आयातलाई प्रोत्साहन हुन्छ,’ महासचिव गुप्ताले भने, ‘सरकारले स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिएन ।’सरकारको नीतिले यहाँ सञ्चालन भएका चामल, तेल, दालका उद्योगलाई प्रत्यक्ष असर परेको उद्योगीको दाबी छ । यी उद्योगमा २५ अर्ब रुपैयाँ भन्दा धेरै लगानी रहेको व्यवसायी बताउँछन् ।

उपभोक्तालाई सस्तोमा दैनिक उपभोग्य खाद्य वस्तु वितरण गर्ने र उद्योगलाई संरक्षण गर्ने नीति ल्याउनु पर्ने व्यवसायीको माग छ।

सरकारले स्वदेशी उद्योगलाई आत्मनिर्भर र आधारभूत संरक्षण गर्न उदासिन भएको गुनासो छ । गतल नीतिको कारण चालम उद्योगी पनि धरासायी भएको बताएका छन् ।

अहिले साढे दुई अर्ब रुपैयाँ चामल आयात हुँदै आएको छ । सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि उत्पादन वृद्धि नहुँदा कृषिजन्य वस्तुको आयात वर्षेनी बढिरहेको छ । मागको आधारमा उत्पादन नहुँदा आयातमा भर पर्नु परेकाले पनि खाद्यान्नको भाउ बढिरहेको छ।