
काठमाडौं। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गइरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइ हिस्सा रहेको भनिएको कृषि क्षेत्रको योगदान पछिल्लो समय घट्दै गएको हो ।
पछिल्लो समय मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशतमा झरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २८ दशमलव ९ प्रतिशत रहेको थियो ।
त्यस्तै, त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१ दशमलव १ प्रतिशत रहेको थियो । अर्थमन्त्री युवराज खतिवडाले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले चालू आर्थिक वर्ष २०७४÷७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन २७ दशमलव ६ प्रतिशत हुने अनुमान गरेको हो ।
तर, कृषि क्षेत्रको उत्पादन भने विगत दुई दशकदेखि एउटै गतिमा वृद्धि भइरहेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विगत दुई दशकको अवधिमा नेपालमा कृषि उत्पादन ३ दशमलव २ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवधिमा भारतमा समेत सोही दरले कृषि उत्पादन बढेको र चीन तथा बंगलादेशमा ३ दशमलव ९ प्रतिशले वृद्धि भएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले कुल गार्हस्थ्य उत्पादनमा कृषिबाहेक अन्य क्षेत्रको योगदान बढी रहेको उल्लेख गरिएको छ । कृषिबाहेक अन्य क्षेत्रको हिस्सा ७२ दशमलव ४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
कृषि विकास मन्त्रालयले कृषिको उत्पादन बढाई मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले २० वर्षे कृषि रणनीतिअन्तर्गत विभिन्न योजना सञ्चालनमा ल्याए पनि त्यो खासै प्रभावकारी हुन सकेको छैन । त्यस्तै, सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।
चालू आर्थिक वर्षमा खाद्यान्न बालीको उत्पादनमा समेत कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा खाद्यान्न बाली लगाइएका क्षेत्रफलमा सुक्खा पहिरो गएका कारण २ दशमलव १ प्रतिशतले खाद्यान्नको उत्पादनमा ह्रास आएको उल्लेख गरिएको छ । त्यस्तै, हिउँदको समयमा लगाइने तरकारी बाली तथा माछा पालनका लागि पोखरी निर्माणको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।
चालू आर्थिक वर्षमा धान तथा गहुँ खेती हुने क्षेत्रफल ५ प्रतिशतले घटेको र फापर तथा जौ बाली लगाएको क्षेत्रफल क्रमशः ७ प्रतिशत र १० प्रतिशतले घटेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा परापूर्वकालदेखि नै कृषिलाई जीवन निर्वाहको मुख्य पेसाका रूपमा हेरिँदै आएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशत रहेको भनिँदै आएको थियो ।