इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले जेठ महिनाको अन्त्यतिर भैंसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ । भैंसी सुन्दरी प्रतियोगिताको बिजेताले नगद एक लाख पाउने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतियोगितामा दोस्रो हुने भैंसी सुन्दरीले ८० र तेस्रो स्थानको सुन्दरीले ७० हजार बराबरको पुरस्कार पाउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनु भयो ।

बिजेता भैंसी धनीलाई पुरस्कार राषी बराबरको भैंसी पुरस्कार दिइने मेहताले बताउनुभयो ।

नगरप्रमुख मेहताको चुनावी घोषणा पत्रमा समावेश गरिएको योजना अनुरुप नगरपालिकाको कार्यालयले भैंसी सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख चिनेश्वर मेहताका अनुसार केहिदिन भित्रबाटै वडास्तरीय भैंसी सुन्दरी प्रतियोगिताको थालनी गरिने छ । वडामा पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरीहरुलाई नगरमा प्रतिष्पर्धा गराइने छ ।

आयोजकले प्रतियोगितामा सहभागि भएर पुरस्कार जित्न नसक्नेहरुलाई समेत हौषला स्वरुप कुटी काट्ने मेसिन उपहार दिने जनाएको छ ।

प्रतियोगिता संचालनकालागि नगरपालिकाले वडाध्यक्ष कालुराम गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । चिनेश्वर मेहता सदस्य सचिव रहेको समितिको सदस्यहरुमा वडाध्यक्ष किशोर सिङ, रविन्द्र मण्डल सहित महिला सदस्य रञ्जना चौधरी रहनु भएको छ ।