काठमाडौं। कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान दिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घोषण गरेका छन् । स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न तथा स्वदेशमै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न उक्त कार्यक्रम ल्याउने उनले बताएका छन् ।

इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा गरेको साना किसान कृषि तालिम कार्यक्रममा उनले स्वदेशमा नै रोजगारी सृजना गर्ने जोड दिए । ‘विदेशमा सिकेको शिपलाई सदुपयोग गर्ने दिशामा सरकर अघि बढ्नेछ,’ उनले भने ‘कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्नेछ ।’ कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने उनको स्पष्टोक्ति थियो ।

छोटो समयमै मुलुकलाई कृषिको माध्यमबाट माथि उठाउन सकिने उनको भनाइ छ । उनको अनुसार विदेशबाट सिकेर आएको शिपलाई मुलुकमा सदुपयोग गरी आयातलाई प्रतिस्थापन गर्ने गरी निर्यात बढाउन जोड दिइनेछ ।

इजरायलमा २ दशमलय ८ प्रतिशत मानिसले खेती गरेर ८० प्रतिशत उत्पादन निर्यात गर्ने गरेको अनुभव सुनाउँदै मन्त्री खनालले नेपालले पनि कृषि क्षेत्रमा प्रगति गर्न सक्ने उनको भनाइ छ ।

मन्त्रालयकोअनुसार नेपालमा ६६ प्रतिशत मानिस कृषिमा आश्रित भएपनि ५० प्रतिशतलाई मात्र खान पुग्ने गरेको छ । थप ५० प्रतिशत आयात गर्नु पर्ने बाध्यता रहेको छ ।