रौतहट। जिल्लाको विभिन्न गाउँका बगैंचामा आँप लटरम्मै फलेको छ । स्थानीय आँप पाक्न अझै महिना जति लाग्छ । तर, अहिले बजारमा औषधि प्रयोग गरी पकाइएका भारतीय आँप जताततै बिक्री भइरहेको छ ।

चन्द्रनिगाहपुर, गरुडा, गौरकटहरिया, समनपुरलगायतका बजारमा आँप बिक्री भइरहेको हो । नेपाली बजारमा स्थानीय आँप बिक्री गर्ने बेला नभएको फलफूल व्यवसायी रामसुरत साहले बताए ।

‘भारतबाट ल्याइएको आँपमा विषादी प्रयोग भएको पछि मात्र थाहा पायौं,’ उनले भने, ‘अहिले यही बिक्री भइरहेको छ । सकेसम्म यस्तो आँप बिक्री गर्ने पक्षमा छैनौँ ।’ भारतको साराङपुरबाट कार्बाइडलायतका मन्द विषादी प्रयोग भएका ‘गुलाबखास’ आँप नेपाल भित्र्याइएको हो । फलफूलको डिलरमार्फत त्यहाँबाट आयात गरी नेपालका विभिन्न सहरमा व्यापारीले बिक्री गरेका हुन् ।

कार्बाइडले काँचो आँपलाई छोटो समयमा पकाएर पहेंलो र खाऊँरखाऊँ लाग्ने गरी आकर्षक रङ बनाइदिन्छ । यसको साइड असर हुने चिकित्सक बताउँछन् । औषधि प्रयोग गरिएको आँप खानाले रिंगटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखालाजस्ता समस्या देखापर्ने डा. सुभाष चौधरीले बताए ।

‘औषधि प्रयोग गरिएको आँप नखाँदा राम्रो हुन्छ,’ उनले भने, ‘अहिले बजारमा आएका आँप हेरेर मात्र खरिद गर्नुपर्छ । यसले पछि स्वास्थ्यमा समस्या आउन सक्छ ।’ बजारमा सबैभन्दा पहिले बिक्रीमा ल्याउँदा मुनाफासहित मूल्य राम्रो पाउने हुनाले व्यापारीले यस्तो हरकत गरेका हुन् ।

भारतीय आँपको बजार मूल्य १ सय २० रुपैयाँ पर्छ । नेपाली आँप ६०र७० भन्दा बढी नपर्ने फलफूल व्यापारी बताउँछन् । महँगो भए पनि सिजन अगावै बजारमा बिक्री गर्दा बढी फाइदा हुने व्यापारीको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मञ्च रौतहटले एक विज्ञप्ति निकाली जिल्लालगायत तराई क्षेत्रका बजारमा बिक्रीका लागि राखिएका विषादीयुक्त आँप नखान आम उपभोक्तालाई अपिल गरेको छ । बढी मुनाफा आर्जन गर्ने उद्देश्यले मौसम र सिजनविपरीत विषादी प्रयोग गरी जबरजस्ती पहेंलो बनाएर भारतबाट नेपालका बजारमा ल्याइएका आँप खरिद नगर्न अनुरोध गरेको संरक्षण मञ्चका जिल्ला सचिव टीका घिमिरेले बताए ।

उपभोक्ता हकहित र अधिकारविरुद्धको विषादी आँपलगायतका अखाद्य पदार्थको बिक्री रोक्न तत्काल बजार अनुगमन गर्न र उपभोक्ता माथि खेलबाड गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न माग गरेको छ ।