नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ । दुवै जिल्लाका अधिकांश किसानले लगाएको यस सिजनको मकै भारतीय गुणस्तरहीन बीउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमी आउने बताइएको छ ।

बाँके र बर्दियाका विभिन्न स्थानमा लगाइएको मकैमा यस पटक मकैको घोगा राम्रोसँग नआएको, मकै सानो तथा कम दाना भएको उत्पादन भएकाले उत्पादन घट्ने दुवै जिल्लाका किसानले बताएका छन् ।

बाँके परसपुर क्षेत्रका किसान राजन बर्माले भारतीय बीउ ल्याएर मकै लगाएको र यसपटक उत्पादन राम्रो नभएको बताउनु भयो । उहाँले सुरुबाटै मकैमा घोघा नै राम्रो नलागेकाले उत्पादन सोचेजस्तो नहुने भनाइ राख्नुभयो ।

बाँके हिरमिनियाका किसान नरेश मिश्र पनि भारतबाट बीउ ल्याएर लगाएको र सोचेअनुसार उत्पादन हुन नसकेको बताउनुहुन्छ । धेरै मेहेनत गरेर खेतमा लगाएको मकैमा राम्रोसँग घोगामा दाना नआएका कारण आफू चिन्तामा परेको बर्दिया गुलरिया नगरपालिका वडा नं.१० का नरेश गोडियाले बताउनुभयो । यस्तै मैनापोखरका अधिकांश किसानले पनि यस्तै गुनासो गर्छन् ।

गुलरिया नगरपालिकाअन्तर्गत कृषि शाखाका प्राविधिक सहायक नारायण न्यौपानेका अनुसार बर्दियामा यस पटक किसानले बाहिरबाट बीउ ल्याएर मकै लगाएको र अहिले अधिकांश मकैका बोटमा नहुर्कने, हुर्के पनि मकैका घोगा नआउने र आए पनि मकैको दाना नहुने समस्या देखिएको बताउनुभयो ।

यसै कारण यस वर्ष मकै उत्पादन घट्ने करिब करिब निश्चितजस्तै रहेको उहाँको भनाइ छ । बर्दियामा यतिबेला कृषि कार्यालयबाट नुतन १०१ र विस्को ९४० नामक दुई किसिमका मकैका जात सिफारिस भए अनुसार बीउ वितरण गरिएको थियो । सो बीउबाट मकै राम्रो उत्पादन भए पनि अन्य जातका मकै किसानले भारतबाट खरिद गरी लगाएका कारण यस्तो समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

मधुवन नगरपालिका, बासगढी नगरपालिका, बढैयाताल गाउँपालिका, राजापुर नगरपालिका र बारबर्दिया नगरपालिका यो समस्या बढी देखिएको छ । कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धनबहादुर पुनले भारतीय बीउको कारणले मकै उत्पादनमा देखिएको समस्याको जानकारी कार्यालयमा आएको जनाउँदै सो बारेमा अनुसन्धान गरिने बताउनुभयो ।