नेपालमा हाल ३ प्रजातिका च्याउहरु गोव्रे च्याउ, कन्ये च्याउ र सिताके च्याउ मात्र व्यवसायिक रुपमा खेती गरिन्छ । यी तीनै च्याउहरु मौसमी रुपमा चिसो समय जस्तै असोज देखि फागुन सम्ममात्र गर्न अनुकूल छ ।

व्यवसायिक रुपमा वर्षभरि च्याउ खेती गर्ने हो भने गर्मी मौसममा खेती हुने च्याउको खेती हुन जरुरी छ । त्यसैले च्याउ अनुसन्धान तथा तालिम केन्द्र बलम्बुले गर्मी महिना खेती हुने दुधे च्याउको सफलतापूर्वक खेती परिक्षण गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु । यो दुधे च्याउलाई अग्रेजीमा (Milky Mushroom) भनिन्छ भने यसको बैज्ञानिक नाम  (Calocybe Indica) हो जसको विकास भारतले गरेको हो ।

कसरी लगाउने ?
दुधे च्याउ लगाउने तरिका कन्या च्याउ खेती गरे जस्तै छ । टनेलभित्रको जमीनमा टुक्रा टुक्रा काटिएको परालमा कन्या च्याउ जस्तै गरी च्याउ उमारिन्छ । च्याउ उम्रिसकेपछि ढुसी फैलिन्छ । यति गर्दा कन्या च्याउ तयार हुन्छ । तर ढुसीमाथि माटोले छोपेपछि दुधे च्याउ उत्पादन गर्न सकिन्छ ।

२५ देखि ३० डिग्री सेल्सियस तापक्रममा दुधे च्याउ उत्पादन गर्न सकिन्छ । गर्मी याममा मात्रै लगाउन सकिने दुधे च्याउको बीउ नार्कले वितरण नगरे पनि च्याऊ खेती गर्ने किसानले नै बीउ उत्पादन गरी कम्तीमा पनि साढे ४ सय रुपैयाँमा बिक्री गर्ने गरेको पाईएको छ ।

दुधे च्याउ अरु च्याउको तुलनामा ठूलो हुने भएकाले पनि यसबाट मनग्य आम्दानी गर्न सकिने विज्ञको भनाइ छ । राम्रो उत्पादन हुने भएपछि अहिले धेरै युवा किसानको आकर्षण च्याउ खेतीमा बढेको छ । बढीमा एक महिनामै उत्पादन गरेर आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा किसानको आकर्षण बढेको हो ।

काठमाडौं उपत्यका र बाहिर गरी वार्षिक झण्डै १५ हजार टन च्याउको उत्पादन भइरहेको छ । तर यसले माग धान्न नसकेकाले भारतबाट पनि च्याउ आयात हुने गरेको छ ।