काठमाडौं। कृषिप्रधान मुलुक भनेर चिनिने नेपालको कूल गार्हस्थ उत्पादनमा पछिल्लो समयमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा कृषि तथा वन क्षेत्रको योगदानमा कमी आउने प्रक्षेपण गरिएको छ । गत आव २०७३र७४ को तुलनामा चालू आवमा जीडीपीमा यस क्षेत्रको योगदान १ दशमलव १५ प्रतिशत बिन्दुले घट्ने पूर्वानुमान केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको आव २०७४/७५ को राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनले देखाएको हो ।

पछिल्लो समय जीडीपीमा यस क्षेत्रको योगदान क्रमिक रूपमा घट्दै गएको छ । आव २०७३/७४ मा जीडीपीमा कृषि तथा वनक्षेत्रको योगदान २८ दशमलव २५ प्रतिशत रहेकोमा चालू आवमा २७ दशमलव १० प्रतिशतमा सीमित रहने विभागको अनुमान छ । चालू आवको शुरूमै आएको बाढीले कृषिक्षेत्रमा पुगेको क्षतिका कारण यस क्षेत्रको योगदान घटेको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार उक्त प्राकृतिक विपद्का कारण मुख्यगरी धान, माछा, तरकारी, नर्सरीलगायत गरी कुल ५ अर्ब ८४ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । अविरल वर्षाका कारण समग्र कृषि क्षेत्रमा क्षति पुग्दा जीडीपीमा यसको योगदान घटेको मन्त्रालयको ठहर छ । तर, विगत केही वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष जीडीपीमा कृषिक्षेत्रको योगदान क्रमिक रूपमा ओरालो लाग्दै गएको देखिन्छ ।

मौसमी अनुकूलतामा बढी निर्भर रहेको नेपाली कृषिक्षेत्रको पछिल्लो १० वर्षको वृद्धिदर अपेक्षाकृत सन्तोषजनक नदेखिएको मन्त्रालयले स्वीकारेको छ । तर, पछिल्लो समय मुलुकको अर्थतन्त्रमा गैर कृषिक्षेत्रको विकास र विस्तारसँगै कृषिक्षेत्रको अंश क्रमशः कम हुँदै गए पनि उत्पादनको आकार भने बढ्दै गएको मन्त्रालयका सहप्रवक्ता एवम् कृषि अर्थविज्ञ शङ्कर सापकोटाले बताए ।

साथै कृषिको योगदान कम भएसँगै उद्योग तथा सेवाजस्ता क्षेत्रको योगदान जीडीपीमा बढ्दा समग्र अर्थतन्त्रमा सकारात्मक असर पार्ने उनको भनाइ छ ।

सापकोटाका अनुसार जीडीपीमा कृषिक्षेत्रको योगदान घट्नु नकारात्मक पक्ष होइन, तर उत्पादनको आकार भने वृद्धि हुनु अत्यावश्यक हुन्छ । यसका लागि कृषिको व्यावसायीकरण एवम आधुनिकीकरणमा बढी जोड दिनु निकै जरुरी रहेको छ । साथै यस क्षेत्रलाई व्यावसायीकरण र विविधीकरण गरी तुलनात्मक लाभ एवम् प्रतिस्पर्धाको माध्यमबाट सक्षम बनाउनु आवश्यक रहेको सापकोटाको ठम्याइ छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी कृषिक्षेत्रमा आशातीत उपलब्धि प्राप्त गर्नु चुनौतीपूर्ण रहेको सापकोटा बताउँछन् ।

मुलुकको अर्थतन्त्रको मेरूदण्ड रहेको कृषिक्षेत्रको योगदानमा कमी आउनुको प्रमुख कारणअनुकूल वर्षा नहुन नै रहेको मन्त्रालयको भनाइ छ । त्यस्तै कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै देशको अन्य अर्थतन्त्रको क्षेत्रसँग जोड्न नसक्नु, कृषिलाई मर्यादित पेशाको रूपमा अनुभूत गराउन नसक्दा यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

कृषिक्षेत्रको विकासका लागि आवश्यक सडक, विद्युत्, बाली भण्डारण र शीत भण्डारणजस्ता पूर्वाधारको निर्माण र कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक मल, उन्नत जातका बीउबिजन, सिँचाइ आदि विषय भने निकै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । कृषिका लागि निकै महत्त्वपूर्ण मानिने यी तत्त्वले गर्दा नै समग्र उत्पादनमा प्रभाव पर्ने गरेको बताइएको छ ।