रुकुम पश्चिम। बिहीबार र शुक्रबार परेको असिना पानीले पाकेर भित्र्याउन ठिक्क भएको गहुँ पूरै नष्ट गरेको छ ।अन्न भित्र्याउने बेला असिनाले गहुँ झारेपछि रुकुम पश्चिमका कृषक चिन्तित बनेका हुन् ।

प्रमुख खाद्य बालीमध्येको गहुँमा ठूलो क्षेति पुगेपछि खाद्यान्न संकट हुने भन्दै कृषकहरु चिन्तित भएका हुन् । असिनाले पाकेको गहुँ कामै नलाग्ने गरी झारेको मुसिकोट–१, का कृषक लिलाबहादुर बोहराले बताउनुभयो ।

पाकेर काट्नका लागि ठिक्क भएको गहुँ जति सबै असिनाले झारेर सखाप पारेको उहाँको भनाई छ । मुखमै आएको अन्नको भाग असिनाले खोसिदिएपछि किसानलाई वर्षभरि खानेकुराको जाहो गर्नै गार्हो हुने भएको छ ।

त्रिवेणि गाउँपालिका–१, का विकल्प ओलीले पनि गहुँ जति सबै असिनाले सखाप पारेको बताउनुभयो । आधा वर्ष दुख गरेर गहुँ भित्र्याउन नपाएपछि ठूलो पीडा कृषकलाई परेको छ । ‘हाम्रो त हात मुख जोड्ने आधार नै यही गहुँ थियो’, कृषक ओलीले भन्नुभयो, ‘गहुँ सबै असिनाले खायो अब हामी के खाने र?’

असिनाले गहुँ सबै भुँइमा झारेको र अब डाँठ मात्र बाँकी रहेको भन्दे उहाँले दुखेसो गर्नुभयो । असिनाले भर्खर फूल खेलिरहेको सुन्तलासहित अन्य फलफूलमा समेत व्यापक क्षेति गरेको छ ।

बिहीबार रातिबाट भारी मात्रामा परेको असिना पानीले गहुँसहित अन्य हिउँदे बालि र तरकारीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

क्षतिको सम्पूर्ण विवरण संकलन भैरहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश साहले बताउनुभयो । असिनाले पुर्‍याएको क्षेतिको विवरण बुझ्न स्थानीय तहमा रहेका कार्यालय मातहतका कर्मचारीलाई खटाइएको साहले जानकारी दिनुभयो ।