
हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये चालू खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत अर्थात् ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजित गरिएको छ ।
प्रदेश सरकारले पुँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत अर्थात् ४६ करोड ५६ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ । ‘कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार–प्रदेश विकासको दरिलो आधार’ भन्ने मूल नाराका साथ बजेट प्रस्तुत गरिएको मन्त्री ढुंगेलले बताए ।
विकास निर्माणलाई समेटिएन :
सरकारले चालू आर्थिक वर्षको असारसम्मका लागि ल्याएको बजेटमा विकास निर्माणका आयोजनाहरू समेटिएको छैन । प्रदेशका सात मन्त्रालय स्थापना भएका स्थानमा फर्निचर, कार्यालय सामग्री, मन्त्रालयका पूर्वाधार संरचना मर्मत, कार्यालयको रङरोगन, कर्मचारीको तलबलाई मात्र बजेट छुट्याइएको छ । सो खर्चबाट बचेको रकमबाट विकास निर्माणका कामहरू गर्न नभ्याउने भएपछि विकासका कामलाई बजेट नछुट्याइएको हो ।
दुग्ध विकास बोर्ड र सुरुङमार्ग प्राथमिकतामा :
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लोकसेवा आयोग गठन गर्ने भएको छ । प्रदेश निजामती सेवा गठन गरी प्रदेशमा योग्य, दक्ष र क्षमतावान् जनशक्तिलाई आकर्षण गर्न प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न लागेको आर्थिक मामिलामन्त्री ढुंगेलले बताए । त्यस्तै आगामी आर्थिक वर्षमा दुग्ध विकास बोर्ड गठन गर्ने पनि उनले बजेटमा उल्लेख गरेका छन् । प्रदेशमा दुग्धजन्य उत्पादन बढाएर कृषकले उच्चतम प्रतिफल पाउने गरी दुग्ध विकास बोर्ड गठन गर्न लागिएको हो ।
हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्न परियोजना अध्ययन, सम्भावना र कार्यान्वयनका लागि आवश्यक रणनीति तयार गरिने बजेटमा उल्लेख छ । त्यस्तै प्रदेशका मन्त्रालयगत सूचना, एवं तथ्यांक संकलन गरी प्रदेशका सूचनालाई एकीकृत गर्न आवश्यक बजेट प्रदेश सरकारले छुट्याएको छ ।
मन्त्री ढुंगेलले प्रदेश लेखानियन्त्रक कार्यालय स्थापना, प्रदेश निजामती सेवा गठन, योजना तथा कार्यक्रम सञ्चालनका लागि प्रोजेक्ट बैंक तयार गर्ने बजेटमा उल्लेख गरेका छन् । त्यस्तै युवा वैज्ञानिक कोष र प्रदेश बालउद्धार कोष स्थापना, प्रदेश निजामती किताबखाना स्थापनाजस्ता परियोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाउने बताएका छन् ।