
विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलंका, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरूमा खेती गर्ने गरिन्छ ।
रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यस्को गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यस्को फलमा भिटामीन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ । यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्व रहेकोले पनि उपयोगिता बढेको छ । यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न संकटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध हुने छ ।
हावापानीमा :
रुखकटहरको लागि गरम र ओसिलो हावापानी उत्तम मानिन्छ। मध्य-पहाडी भेगका नदी किनारामा रहेका गरम तथा ओसिला ठाउँहरुमा १४०० मिटरसम्मको उचाईमा पनि यसको खेती राम्रो भएको पाईन्छ। लामो समयसम्मतुषारो पर्ने र बढी चिसो हुने ठाउँहरुमा यसको खेती राम्रो हुँदैन।रुखकटहरको वृद्धि र विकासका लागि २५ देखि ३० डिग्री सेल्सियस उत्तम मानिएतापनि ४५ डिग्री सेल्सियस तापक्रम हुने ठाउँहरुमा पनि यसको खेती भइरहेको छ।
उष्ण प्रदेशीय हावापानी भएको सबै क्षेत्रमा यसको खेती गर्न सकिन्छ तापनि सालाखाला १०००-१५०० मि.मि.वार्षिक वर्षा हुने ठाउँहरु रुखकटहर खेतीको लागि राम्रो मानिन्छ।
माटो (जमीन ):
रुखकटहर सबै प्रकारको माटोमा खेती गर्न सकिन्छ तापनि गहिराई बढी भएको र पानी नजम्ने जमीन राम्रो हुन्छ। फल लाग्ने समयमा जमीनमा बढी पानी जमेमा फल एवं पातहरु झर्न शुरु गर्दछन्। साधारणतया माटोको पि.एच. मान ५.० देखि ६.५ राम्रो मानिन्छ।बढी फलामयुक्त अम्लिय माटोमा रुखकटहर राम्रो फस्टाएको पाईन्छ। क्षारिय माटो यसको लागि लाभदायक हुँदैन।
विरुवा लगाउने तरीका :
रुखकटहरको बिरुवा समथर खासगरी तराई क्षेत्रमा लगाइने हुँदा वर्गाकार वा आयताकार तरिकाले बगैंचा लगाउन सकिन्छ तर हालसम्म रुखकटहरको मात्र बगैंचा यसरी लगाईएको बिरलै पाईन्छ। विशेषतः आँप, लिची बगैंचाको छेउछाउमावा बारीको कान्लामा बिरुवा लगाउनेगरिन्छ।
रुखकटहरका बोटहरु निकै फैलिने र उचाईसम्म जाने हुँदा १५ देखि २५ मिटर सम्मको दूरी कायम गर्नु पर्ने हुन्छ।यसको बिरुवा लगाउनु अगाडी १ घनमिटरको खाड्ल खन्नु पर्दछ किनकी रुखकटहरका बिरुवा बीजु हुने र गहिरो गरी रोप्नु पर्ने हुन्छ। यसको मूल जरा काटियो भने बिरुवा सर्न गाह्रो हुन्छ किनकी सहायक जराहरु कम हुन्छन्।
सिंचाई,मलखादको व्यवस्था :
यसलाई सुख्खा हावापानीबाट बचाउन रोपेको २-३ वर्षसम्म हिउँद तथा गर्मी महिनामा सिंचाई गर्न आवश्यक हुन्छ। बोट बिरुवा ठूला भइसकेपछि जरा गहिराईसम्म जाने हुनाले सिंचाईको जरुरत पर्दैन।
साधारणतया रुखकटहर फल्न ५-१० वर्षसम्म लाग्दछ। फल्न शुरु नगरेको बिरुवालाई २५-३० के.जी. कम्पोष्ट मल र १०० ग्राम नाईट्रोजन प्रति वर्ष दिनु पर्दछ। फल दिन शुरु गरेका बिरुवालाई भने ३०-३५ के.जी.कम्पोष्ट मल, १के.जी. नाईट्रोजन,०.५ के.जी.फोस्फोरस र १ के.जी. पोटासको आवश्यकता पर्दछ।
प्रचलित जातहरु :
रुखकटहरका जातहरुमा रुद्राक्षी, सिंगापुरेरश्रीलंकन, ख्वाजा, अलाहाबाद, रोहिनी,समैया, आदि हुन्।
रोग तथा रोगथामको उपाय :
यसमा पनि विभिन्न किसिममा रोगहरु जस्तै गुलाबीरपिंक रोग, पातको थोप्ले रोग, फल कुहिने, डाँठ कुहिने रोगहरु लाग्दछन्। यिनीहरुमध्ये गुलाबी र फल कुहिने रोगले बढी नोक्सानी गर्दछ। रोगी हाँगाहरुलाई काटेर जलाई दिनु पर्दछ। यसरी काटिएको ठाउँमा बोर्डेक्स पेन्ट लगाउनु पर्दछ र पूरै बोटमा बोर्डेक्स मिक्स्चर १ % को घोल बनाई छर्नु पर्दछ।
यो रोग प्रायः सबै गरम र ओसिलो हावापानी भएका ठाउँहरुमा लागेको पाईन्छ। यस रोगको ढुसीले कलिला फलहरुमा आक्रमण गर्दछ। रोगले ग्रसित फलहरु काला हुन्छन् र बोटबाट झर्दछन्। बोटमा फल लागिसकेपछि कलिला फलहरुलाई डाईथेन एम-४५ वा वेभिष्टिन २-३ ग्राम प्रति लिटर पानीमा मिसाई १०-१५ दिनको फरकमा २-३ पटक स्प्रे गर्यो भने रोग लाग्नबाट बचाउन सकिन्छ।
आर्थिक महत्व :
रुखकटहर एउटा कृषकको लागि आम्दानीको श्रोत भएको मानिन्छ। यसको फल फाल्गुन देखि जेष्ठसम्म तरकारीको रूपमा रु ८० -९५प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ।
(थप जानकारी चाहियमा कमेन्ट गर्नसक्नुहुन्छ ।यो जानकारी पुष्कर आचार्यले कृषि टेलिभिजनको लागि तयार पारेको कार्यक्रम नमस्ते किसान का आधारमा तयार पारेका हौं ।)