मुगु। मुगुका वनमा पाइने बहुमूल्य बुटी यार्सागुम्बा सङ्कलनका लागि यस वर्ष जेठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले यो वर्ष जेठ ५ गतेबाट यार्सा सङ्कलन गर्न वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्बा सङ्कलनका लागि मुगुवासीलाई प्रतिव्यक्ति एक हजार पाँच सय र जिल्ला बाहिरका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार रुपियाँ प्रवेश शुल्क तोकिएको छ । यसरी सङ्कलन भएको शुल्क गाउँपालिका, व्यवस्थापन र यार्सा पाइने वडालाई बाँडफाँड गरिने छ । सङ्कलित शुल्कमध्ये गाउँपालिकाले ३० प्रतिशत, व्यवस्थापन खर्च ३० प्रतिशत र सम्बन्धित वडा नं. २ लाई ४० प्रतिशत रकम दिइने छ ।
मुगु जिल्लाका उच्च हिमाली पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि कणाली प्रदेशका दस जिल्लालगायत बाजुरा, जाजरकोट, अछाम, बाँके, बर्दिया, कैलाली, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, मनाङ, मुस्ताङका हजारौँ सङ्कलक र खरिदकर्ता मुगु आउने गर्दछन् । यार्सा सिजन सुरु भएसँगै पाटन जानका लागि चहलपहल बढ्न थालेको छ ।
पाटनमा चाहिने झोला, खानेकुरा, न्याना कपडा, पाल, म्याटे«स, औषधि यो बेला बढी मात्रामा बिक्री हुने भएकाले व्यापारीले यी सामान अधिक मात्रामा स्टक राखेका छन् ।
यार्सागुम्बा सङ्कलकबाट प्रवेश शुल्कबापत बर्सेनि करोड रुपियाँभन्दा बढी रकम सङ्कलन हँुदै आएको छ । विगत वर्षमा करोड बढी रकम उठे पनि गत वर्ष स्थानीय, सङ्घ र प्रदेशको निर्वाचन भएकाले यार्सा सङ्कलक कम आएका थिए । यो वर्ष प्रवेश शुल्कबाट जिल्ला विकास समितिले ७० लाख उठाएको थियो जबकि आर्थिक वर्ष २०७२÷७३ मा एक करोड ६० लाख रुपियाँ प्रवेश शुल्क उठेको थियो ।
गत वर्षसम्म साविक जिल्ला विकास समिति र मुगु गाउँ विकास समितिले उठाउँदै आएको यार्सा शुल्क स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै यस वर्षबाट स्थानीय सरकार मुगुम कार्मारोङ्ग गाउँपालिका र सोही गाउँपालिकाको २ नं। वडा कार्यालयले उक्त कर उठाउने छन् ।
जिल्लामा रहेका चार स्थानीय तहमध्ये यो गाउँपालिकाको वडा नं. १ र २ मा अधिक मात्रामा यार्सागुम्बा पाइने भए पनि वडा नं. १ डोल्फुका सबै पाटन सो फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले शुल्क उठाउँदै आएको छ भने २ नं. वडामा मात्र स्थानीय सरकारले कर उठाउनेछ । वडा नं. २ मुगु गाउँका माथिल्लो कोइकी, तल्लो कोइकी, थाक खोला, रिमाड, छापलोला, मुगु पाटन, पुरानो मुगु पाटनलगायतका एक दर्जनभन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ ।
सङ्कलित यार्सामध्ये सङ्कलकले गुणस्तरका आधारमा एक नम्बरलाई प्रतिबुटी एक हजार, दुई नम्बरलाई प्रतिबुटी पाँच सय र तीन नम्बरलाई प्रतिबुटी दुई सय रुपियाँका दरले खरिदकर्तालाई बिक्री गर्ने गर्दछन् । एक केजी यार्सा पुग्न एक नं। बुटी दुई हजार सात सय वटा, दुई नं. बुटी तीन हजार पाँच सयवटा र तीन नं. बुटी चार हजारवटा चाहिन्छ । व्यापारीका अनुसार यसरी सङ्कलन गरिएको यार्सा तिब्बती बजार तथा काठमाडौँ, पोखरा र दिल्लीमा प्रतिकेजी एक नं.को ४० लाख दुई नं. को ३० लाख र तीन नं. को २० लाख रुपियाँमा बिक्री हुने गर्दछ ।
पाटनमा यार्सा, नगद लुट्न हतियारधारी लुटेरा आउने थालेपछि सरकारले गत वर्षबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बनाई खटाउने गरेको छ ।