कोलम्बो। श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् । विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानी कै समस्या भएको छ । त्यसैगरी बाली लगाउन नपाएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

देशको उत्तरी, उत्तरपश्चिमी र पूर्वी क्षेत्रमा रहेका दश जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ । खडेरीका कारण उत्तरपश्चिमी प्रान्तको पुताला जिल्लाका दुई लाखभन्दा बढी व्यक्तिले खानेपानीको चरम अभाव ब्यहोरेका छन् । उक्त क्षेत्रमा लगाइएका तरकारी र अरु बालीसमेत सुकेका छन् ।

देशको दक्षिणी, मध्य तथा पश्चिमी भूभागमा भने केही समय यता बर्षा भएकाले किसानले राहतको अनुभूति गरेको श्रीलंका सरकारले जनाएको छ ।