इलाम। आफ्नो नाममा रहेको एक रोपनीभन्दा कम जमिन बेच्नै पाइँदैन भन्दा पत्याउनै गाह्रो होला । तर, इलामका जनप्रतिनिधिले यस्तै नियम बनाएका छन् ।

सूर्योदय नगरपालिकाले फिक्कल पशुपतिनगर सडक खण्डबाट ५०० मिटर दायाँबायाँ १ रोपनीभन्दा कम जग्गा खरिद बिक्री गर्न नपाउने नियम बनाएपछि स्थानीबासी असन्तुष्ट बनेका छन् । नगरपालिकाले नमूना बस्तीका लागी भन्दै ९ नम्बर वडालाई अघि सारेपछि सो क्षेत्रको कालोपत्रे सडक छेउको १ रोपनी क्षेत्रफलभन्दा कमका कुनै पनि जग्गा बिक्री गर्न नपाउने भएपछि स्थानीय असन्तुष्ट भएका हुन् ।

नगर परिषद्बाट कुनै एउटा वडामा एकीकृत बस्तीको अवधारणा अगाडि सारेपछि नगरले सो वडालाई छनोट गरेको नगरपालिकाले जनाएको छ । वडाको आग्रहपछि नगरपालिकाले पनि भौगोलिक रुपमा केन्द्रबाट नजिक भएकाले सो वडामा एकीकृत बस्तीका लागि भन्दै यस्तो निर्णय अगाडि बढाएको हो ।

सो कदमपछि जनप्रतिनिधिहरू नगर विकासको एक कदम अघि बढेको महसुस गरे पनि वडावासीमा भने समस्या भएको छ । जग्गा खरिद बिक्रीमात्र होइन नगरपालिकाले ल्याएको एकीकृत सम्पत्तिको अवधारणाले पनि नगरवासी समस्यामा परेको स्थानीय उत्तमकुमार श्रेष्ठले बताए । एकीकृत बस्तीका लागि वडा नं. ९ को निर्णयको अहिले विरोधसमेत सुरु भएको छ । वडाबासीले यो निर्णय सच्याउँदै व्यवहारिक र जनतामुखी बन्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

स्थानीयले आवश्यकताअनुसार जग्गा बिक्री वितरण गर्न नपाउँदा समस्या परेका बेला जग्गा हुनु र नहुनुको कुने अर्थ नहुने भन्दै निर्णयका विषयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । नगरपालिकाले यस्तो निर्णयको विषयमा पुनर्विचार नगरे भविष्यमा पनि वडा नं. ९ बरबोटे र आसपासका क्षेत्र अपेक्षिकृत विकासमा समस्या हुन सक्ने वडा नं ९ टोल विकास समितिका संयोजक डम्बर प्रधानले बताए ।

नगरपालिकाको निर्णयले गाउँबाट सेवा सुविधा खोज्दै थोरै पैसा बोकेर सहर प्रवेश गर्ने मानिसका लागि यो ठाउँमा बसोबास गर्ने नसकिने स्थिति सिर्जना हुने सम्भावना देखिएको स्थानीय नरबहादुर लामाले बताए ।यता जनतालाई समस्या पर्ने देखिएमा आगामी नगरपरिषद्बाट निर्णयलाई पुनर्विचार गर्न सकिने बाटो खुल्ला रहेको वडाध्यक्ष देवेन्द्र शर्मा बताए । उनले एकीकृत नमुना बस्तीका लागी यस्तो अवधारणा अगाडि बढाइएको जानकारी दिए ।