लाहान। सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि सिराहामा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ। बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसन्डीलगायत नाकाबाट खुलेआम कुखुरा तस्करी हुने गरेको हो।

भारतमा कुखुराको मासु किलोमा ५० देखि सय रुपैयाँ सस्तो भएकाले तस्करी हुने गरेको जनाइएको छ। सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी भइरहेको स्थानीय बताउँछन्। कुसन्डीका रामप्रसाद यादवले झाझपट्टी नाकाबाट दैनिक २० देखि २५ भ्यान कुखुरा तस्करी भई लहान पुग्ने गरेको सुनाए। ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो’, उनले भने, ‘अहिले त दिउँसै तस्करी हुन थालेको छ।’

कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र भ्यान प्रयोग हुने गरेको छ। भन्सार टोलीले माघ २५ गते मध्यरात लगठी गोठ नाकाबाट १० भ्यान कुखुरा लोड गरिएको अवस्थामा बरामद गरेको थियो। तर, तस्करलाई भने प्रहरीले पक्राउ गर्न सकेन। त्यसपछि प्रहरीले फागुन १७ गते सोही क्षेत्रबाट जिपसहित ८ लाख ५० हजार रुपैयाँबराबरको कुखुरा र एक तस्कर पक्राउ गरेको थियो।

लगडी गोठ, झाझपट्टी र बरियारपट्टी नाका कुखुरा तस्करले बढी प्रयोग गर्ने गरेको जनाइएको छ। तस्करी रोक्ने निकायले नै महिनापिच्छे असुल गर्ने गरेको एक व्यापारीले बताए। ‘प्रहरीले चाहे एउटा कुखुरा पनि ल्याउन मुस्किल छ तर गाडीका गाडी कसरी ल्याउँछन् रु ’, उनले भने, ‘तपाईं नै अनुमान लगाउनुस्, अब बढी भन्न सकिँदैन।’ महिनावारी असुल्न सजिलो पार्नका लागि मात्र प्रहरी(प्रशासनले कहिलेकाहीं कुखुरा बरामद गर्ने गरेको उनको दाबी छ।

सीमावर्ती बजारमा भारतबाट अवैध रूपमा आयातीय अन्डासमेत बिक्रीवितरण हुने गरेको छ। चोकमा टेबल राखेर त्यसमाथि खुलेआम भारतीय सेतो अन्डा खरिदबिक्री भइरहे पनि त्यसतर्फ कसैको ध्यान गएको छैन, जसका कारण सीमावर्ती क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन्। भगवानपुर, माडर, बरियारपट्टी, ठाडी, जिझौललगायत बजारमा भारतीय अन्डा खुलेआम खरिदबिक्री हुने गरेको हो।

जिल्ला भन्सार कार्यालय माडरका प्रमुख राजेन्द्र हमालले कुखुराको तस्करी मौलाएको स्वीकार गरेका छन्। ‘क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले भारतबाट कुखुरा भित्र्याउन प्रतिबन्ध लगाएको हो’, उनले भने, ‘त्यसैले तस्करी किन भइरहेको छ भन्ने क्वारेन्टाइन कार्यालयसँगै प्रश्न गर्नुस्।’ सम्बन्धित सबै निकायले चाहे मात्र तस्करी नियन्त्रण हुने उनको भनाइ छ।

माडरस्थित क्वारेन्टाइन प्रमुख चन्द्रकिशोर यादवले भारतीय कुखुरा र अन्डो तस्करी नियन्त्रण गर्न नसकिएको स्वीकार गरे। ‘हामीले गस्ती गरेर तस्करी नियन्त्रण गर्न सम्भव छैन’, उनले भने, ‘सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी रोक्नुपर्ने हो।’ तस्करी रोक्न सम्बन्धित निकायका प्रमुखहरूको बैठक लामो समयदेखि बस्न नसकेकाले पनि समस्या भइरहेको उनको भनाइ छ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी राजन भेटवालले प्रतिबन्धित कुखुरा र अन्डाको तस्करी हुन नदिन नाकाहरूमा कडाइ गरिएको बताए। केही दिनअघि भारतबाट अवैध रूपमा भित्र्याउन लागेको ठूलो परिमाणमा कुखुरा र अन्डासमेत बरामद गरिएको दाबी उनले गरे। भने, ‘तस्करी गर्न कसैलाई छुट छैन। तस्करीमा संलग्न जो कोहीलाई पनि पक्राउ गरेर कारबाही गर्छौं।’