
जाजरकोट। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले प्रतिअंगुरको बिरुवा हुर्काएबापत एक सय रुपैयाँ दिने भएको छ । अंगुरखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन नगरपालिकाले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको मेयर ओम बुढाले जानकारी दिए । खदाङ, त्रिपुराकोटलगायत ठाउँका किसानलाई एक हजारभन्दा बढी अंगुरका बिरुवा नगरपालिकाले उपलब्ध गराएको थियो ।
उपलब्ध बिरुवा हुर्काएबापत प्रतिबिरुवा एक सय रुपैयाँ दिने निर्णय गरिएको बुढाले बताए । तल्लो डोल्पाका किसानको जीवनस्तर उकासेर व्यावसायिक रूपमा अगाडि बढाउन लागिएको उनले बताए । आयातीत वस्तुभन्दा स्थानीय उत्पादनलाई जोड दिने नीतिसहित काम गरेको उनको भनाइ छ।
किसान खुसी
नगरपालिकाको घोषणासँगै किसानहरू खुसी भएका छन् । डोल्पाको अन्य स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिका सुगम मानिन्छ । जाजरकोट सिमानासँग जोडिएको यो नगरपालिकामा किसानको जीवनस्तरमा सुधार ल्याउन स्याउका बिरुवासमेत वितरण गरिएको छ । नगरपालिकाको अभियानलाई सफल बनाउन मेयर बुढाले सांसद सत्य पहाडी, पद्मा बोहरा र वीरबहादुर शाहीलाई आग्रहसमेत गरेका छन् ।